जनता टाइम्स

२६ आश्विन २०८२, आईतवार १६:०९

‘टीओबी’ टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक, प्रहरी बन्यो गम्भीर


काठमाडौं, असोज २६ । जेन–जी आन्दोलनका क्रममा टिओबी (तिब्बतियन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा देखिएका युवकको प्रहरीले समेत खोजी सुरु गरेको छ ।

केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका शङ्कास्पद व्यक्तिहरू जेन-जी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमा व्यापक भइरहेको थियो । यस्ता व्यक्तिहरूले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएका छन् ।

त्यसमध्ये एकजनाले पेस्तोल नै बोकेको फोटो आएपछि प्रहरीसमेत गम्भीर बनेको छ ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उक्त फोटो र यससँग सम्बन्धित फुटेजहरू सङ्कलन गरिएको बताउनुभयो।

ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको र छिट्टै पक्राउ गरिने उहाँको भनाइ छ । तस्बिरमा बिजुलीबजारको आर्क ब्रिज जस्तो देखिने स्थानमा टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ । यो तस्बिर सक्कली भएको आकलन प्रहरीले प्रारम्भिक रूपमा गरेको छ ।