काठमाडौं, असोज २७। इजरायलमा हमासद्वारा अपहरण गरी नियन्त्रणमा राखिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहन सक्ने सम्भावना अत्यन्तै क्षीण बनेको छ।
हमासको कब्जामा रहनुभएका विपिनको पुरानो भिडियो सार्वजनिक भएपछि उहाँ जीवित रहनुभएको हुन सक्ने आशा पलाएको थियो। तर, इजरायली सेनाका एक अधिकारीको ताजा भनाइले पुनः निराशा ल्याएको छ। ती अधिकारीले आज भनेका छन्, ‘विपिन इज नो मोर।’
इजरायली सेना (आईडीएफ) का सो अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहनुभएकी विपिनकी बहिनी, नेपालमा रहनुभएका उहाँका दाजु किशोर जोशी तथा इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत् विपिन अब जीवित नरहेको औपचारिक जानकारी दिनुभएको इजरायलस्थित नेपाली राजदूत पण्डितले जानकारी दिनुभयो।
अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम सुरु भएपछि आज हमासको नियन्त्रणमा रहेका केही जीवित र मृतक बन्दीहरूलाई रिहा गर्ने कार्यक्रम रहेको छ। तर आज सार्वजनिक गरिएको २० जनाको सूचीमा विपिनको नाम छैन। यसअघि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले २२ जनाको सूचीमा उहाँको नाम पनि समावेश भएको बताएको भए पनि, पछिल्लो विवरणमा उहाँको नाम हटाइएको पुष्टि भएको छ।
कञ्चनपुरका स्थायी बासिन्दा विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा अध्ययनका सिलसिलामा इजरायलमा रहँदा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो दिन हमासले तीव्र आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो, र विपिनलाई लडाकुहरूले आफूसँगै लगेको पुष्टि भएको थियो।
सन् २०२३ नोभेम्बर १७ मा उहाँलाई गाजा क्षेत्रको ‘अल शिफा’ अस्पतालमा देखिएको पुष्टि भएको थियो। त्यसपछि उहाँको अवस्था अज्ञात रहँदै आएको हो।
गत बुधबार साँझ सार्वजनिक गरिएको उहाँको पुरानो भिडियोले केही समयका लागि आशा जगाएको थियो। तर आज इजरायली सेनाको आधिकारिक भनाइसँगै, उहाँ जीवित नरहेको तिताे यथार्थको संकेत गरेकाे छ।
नेपाल सरकार र इजरायलस्थित नेपाली दूतावासले यस विषयमा थप औपचारिक पुष्टिका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्