सुर्खेत, असोज २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै कुनै पनि राजनीतिक दल सुरक्षित रहन सक्ने बताउनुभएकाे छ ।
आज सुर्खेतमा आयोजित नेकपा (एमाले) जिल्ला सचिवालयको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कार्यकर्तालाई उच्च मनोबलका साथ जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनताको घर–घरमा पुगौं, उनीहरूलाई वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔँ, जनताको समर्थन रहुन्जेल एमालेलाई कसैले कमजोर बनाउन सक्दैन ।”
उहाँका अनुसार अहिलेको समय राजनीतिक दृष्टिले अत्यन्त संवेदनशील अवस्थामा पुगेको छ । इतिहासमै पहिलो पटक राजनीतिक असुरक्षाको स्थिति सिर्जना भएकाले जनताको बीचमा रहँदै पार्टीको नीति, दृष्टिकोण र भविष्यको योजना स्पष्ट रूपमा राख्न आवश्यक रहेको उहाँको भनाइ छ । कँडेलले भन्नुभयो, “राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन्, गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्याऔँ, जनतालाई विश्वास दिलाऔँ कि एमाले मात्रै देशको स्थायित्व र विकासको ग्यारेन्टी हो ।”
उहाँले अबको राजनीतिक यात्रा सजिलो नहुने चेतावनी पनि दिनुभयो । उहाँका अनुसार राजनीतिक चेतना कमजोर भयो भने निराशा र पलायनको अवस्था आउन सक्छ, त्यसैले सबै कार्यकर्ता सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।
मुख्यमन्त्री कँडेलले एमालेमाथि चारैतिरबाट प्रहार भइरहेको दाबी गर्दै त्यसलाई जनशक्ति, संगठन र विश्वासको बलमा सामना गर्नुपर्ने बताउनुभयो । उहाँले जोड दिनुभयो, “एमालेप्रति जनताको भरोसा गहिरो छ, त्यसलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्छ । विरोधका हरेक चुनौतीहरूलाई संगठनको एकताबद्ध शक्तिबाट परास्त गर्न सकिन्छ ।”
बैठकमा जिल्ला तहका पार्टी पदाधिकारी, जनसंगठनका प्रतिनिधि र स्थानीय नेताहरूको उपस्थिति थियो । बैठकमा वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, सदस्यता नवीकरण र आगामी अभियानबारे विस्तृत छलफल गरिएको एमाले जिल्ला सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्