काठमाडौं, असोज २७ । सुशासनका नाममा भएको जेनजी आन्दोलन र त्यस पछि बनेको अन्तरिम सरकारले देशमा शान्ति सुव्यवस्था कायम गर्न पूर्णतः असफल भएको छ । सरकारले शान्ति, सुव्यवस्था कायम गर्न नसक्दा विभिन्न खालका आतङ्क बढ्दै गएका छन् ।
अरू त अरू अब स्वयम् प्रधानमन्त्रीकै नामबाट चन्दा आतंक सुरु भएको छ । प्रधानमन्त्रीको नामबाट चन्दा आतङ्क मच्चिएपछि प्रधानमन्त्री कार्यालय विज्ञप्ति निकाल्न बाध्य भएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको नाममा विभिन्न व्यक्ति वा समूहले चन्दा असुली गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै हाल केही जिल्ला तथा क्षेत्रमा प्रधानमन्त्री वा कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै आर्थिक सहयोग, दान वा चन्दा मागिरहेको सूचना प्राप्त भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यू तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति दिइएको छैन, त्यसैले यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध गर्दछौँ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव रविलाल शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा, प्रधानमन्त्रीको नाममा गरिने चन्दा सङ्कलन, सहयोग आग्रह वा आर्थिक योगदानका मागलाई पूर्ण रूपमा अनधिकृत कार्य ठहर गर्दै कानुनी कारबाहीको चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालय र सम्माननीय प्रधानमन्त्रीज्यूको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन अनुरोध गरिन्छ।’
सरकारले नेपालभित्र मात्र नभई विदेशमा बसेका नेपालीलाई पनि सावधानी अपनाउन आग्रह गरेको छ । प्रधानमन्त्रीको नाममा चन्दा सङ्कलन वा आर्थिक माग गर्ने कोही विदेशमा सक्रिय रहेको जानकारी भएमा सम्बन्धित देशस्थित नेपाली नियोग वा प्रधानमन्त्री कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्