जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार १७:०१

एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलमा बस्ने तय, महाधिवेशनदेखि आन्दोलनसम्मका यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं, असोज २८ । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक बुधवारदेखि बस्दै छ । एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा बस्ने तय भएको छ ।

बैठक ३ दिनसम्म बैठक चल्ने कार्ययोजना रहेको छ । केही दिनअघि बसेको सचिवालय बैठकले आगामी मङ्सिरको अन्तिम साता ११औँ महाधिवेशनमा जाने निर्णयसहित केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिसकेको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बुधवार बैठकको सुरूपा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । ‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ।

प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको । शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशङ्का रहेको जस्ता विषय समेटिने छन्,’ प्रचार प्रमुख गौतमले भन्नुभयो ।

गौतमका अनुसार केन्द्रीय कमिटीले समेत संविधान, लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद् पुनः स्थापनाको एजेण्डालाई सशक्त ढङ्गले उठाउने कार्ययोजनासहित स्पष्ट निर्णय लिने छ । बैठकमा केन्द्रीय सदस्यको सुझाव आएमा छलफल गर्ने गरी विविधको एजेण्डासमेत रहेको छ । जेनजी आन्दोलनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्ने लागेको हो ।