जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १५:२९

कुतर्क र कुविचारको बजार अझ केही क्षण चल्न सक्दछ : चन्द्र भण्डारी 


काठमाडौं, असोज २९ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली राजनीतिमा विचार र आचरण सुधार्दै नयाँ सुरुवात गर्नुपर्नेमा जोड दिनु भएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एक दिनमा बन्ने र एकैदिनमा  बिग्रने राजनीति नहुने बताउनुभएको छ । ‘एक दिनमा बन्ने र एक दिनमै बिग्रिने- के त्यो राजनीति हो ? तर म दृढ छु- मैले नेपाली राजनीतिमा राखेका विचारहरू आज सत्य साबित भएका छन्,’ उहाँले भन्नु भएको छ।

उहाँले नेपाली राजनीति र समाजमा देखिएका विकृति–विसङ्गति सुधार्न सबैले आत्मसमीक्षा गर्नुपर्नेमा पनि जोड दिनु भएको छ। ‘हाम्रो व्यवहार, शैली र आचरणले देशलाई नोक्सान नपारोस्, समाजमा विकृति नफैलियोस्,’ उहाँको भनाइ छ।

नेता भण्डारीले विगतका कमजोरीलाई सुधार गर्दै नयाँ दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताउनु भएको छ। ‘विगतलाई अझ धेरै सुधार गर्नु छ त्यसैले तर्कले तर्क, विचारले विचार खोजिरहेको छु,’ उहाँले लेख्नुभएको छ।

उहाँले कुतर्क र कुविचारको बजार केही समय चल्न सक्ने तर अब वर्तमानबाट नयाँ सुरुवात गर्न सबैलाई आग्रह गर्नुभएको छ। ‘कुतर्क र कुविचारको बजार अझ केही क्षण चल्न सक्दछ, विगत समाप्त भएको छ, वर्तमानबाट नयाँ सुरुवात गरौँ ,व्यक्तिगत स्वार्थलाई शून्यमा राखौँ, मुलुकको माटो समाएर प्रण गरौँ- भविष्यको उज्यालो झिल्को निभ्न दिनु हुँदैन,’ उहाँले लेख्नुभएको छ।