जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १९:१७

एमाले केन्द्रीय कमिटी बैठक : ५० सदस्यले धारणा राखे, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने 


काठमाडौं, असोज २९ । नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ५० जना सस्यले आफ्नो धारणा राख्नु भएको छ ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको नेपालको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष राजनीतिक प्रस्ताव माथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नु भएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । सदस्यहरूले अन्तरिम सरकारको गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन लगायतका सन्दर्भमा पार्टीको धारणा, सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन र निर्वाचनमा एमालेको उपस्थितिको सवाल, पार्टीले गर्ने जनपरिचालन र संगठन परिचालन, लोकतन्त्र र संविधान रक्षाका लागि राजनीतिक दलसँगको सहकार्य, त्यसको अन्तर्य र प्रभाव लगायतका विषयमा सदस्यहरूले धारणा राख्नु भएको गौतमले बताउनुभयो ।

३ सय ६० जनाले बोल्नु पर्नेमा आज ५० जनाले मात्र धारणा राख्नु भएको उहाँले जानकारी दिनुभयो । पुनः भोलि बिहान ८ बजेबाट बैठक प्रारम्भ हुने र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने गौतमले बताउनुभयो । केन्द्रीय सदस्यहरूले राख्नु भएको धारणा माथि पर्सी पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पार्ने गौतमले बताउनुभयो ।

केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलन र सरकारको भूमिका लगायतका विषयमा जिज्ञासा राख्नु भएको उहाँले बताउनुभयो । भदौ २३ र २४ को त्रासदीपूर्ण घटनाको निष्पक्ष छानबिन हुनु पर्ने धारणा केन्द्रीय सदस्यले राख्नु भएको गौतमले जानकारी दिनुभयो । अहिलेका छानबिन समितिका संयोजक सुरुमा नै पूर्वाग्रही भएकाले निष्पक्ष उच्चस्तरीय छानबिन हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले राख्नु भएको थियो ।

संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन आन्दोलन उठाउने कुरा वृहत् रूपमा उठेको बताउँदै उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय पनि छुटफुट रूपमा उठेको जानकारी दिनुभयो ।