जनता टाइम्स

३० आश्विन २०८२, बिहीबार ११:२६

जेनजीले उठाएका माग माओवादीका माग 


काठमाडौं, असोज ३०। नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलन नयाँ राजनीतिक चेतनाको सङ्केत भएको बतानुभएकाे छ ।

बिहीबार बिहान चितवनको भरतपुर–कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित रूपमा अघि बढेको युवाको आन्दोलन नयाँ राजनीतिक चेतनाको सङ्केत भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्, हाम्रो पार्टीले विगतदेखि उठाउँदै आएको भ्रष्टाचार विरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो।’

प्रचण्डले असोज २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा देखिएको गम्भीर सुरक्षा लापरबाहीलाई घटनाको मुख्य कारणका रूपमा व्याख्या गर्नुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकार प्रमुखको भूमिकाप्रति आलोचना गर्नुभयो। ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो, तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशील व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो, गोली चलाउँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा निशाना लगाइनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद घटना हो’, उहाँले भन्नुभयो ।