जनता टाइम्स

३० आश्विन २०८२, बिहीबार १५:३८

सरकार आतङ्क सिर्जना गरेर सत्ता लम्ब्याउने षड्यन्त्रमा छ : महेश बर्तौला


काठमाडौं, असाेज ३०। नेकपा (एमाले) का नेता महेश बर्तौलाले आगामी फागुन २१ गते सम्पन्न गर्न तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई सरकारले गराउने तयारी नगरेको बताउनुभएको छ ।

असंवैधानिक रूपमा बनेको वर्तमान सरकार जननिर्वाचनको वातावरण बनाउनेतर्फ नलागी देशमा डर, त्रास र आतङ्क फैलाउँदै सत्तामा टिकिरहने योजनामा रहेको उहाँको भनाइ छ । ‘आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश सहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउँदैन भन्ने कुरा उसका सुरु देखिकै व्यवहार र गतिविधिहरूबाट घाम जत्तिकै छर्लङ्ग हुँदै गएको छ, सरकार निर्वाचन को वातावरण बनाउने तर्फ भन्दा पनि मुलुकमा डर, भय , त्रास र आतङ्क सिर्जना गरेर सत्तामा रहिरहन र लम्याउन चाहन्छ’, उहाँले भन्नुभयो ।

बर्तौलाले जनवादको कार्यनीति आत्मसात् गरेर अघि बढिरहेको एमाले जननिर्वाचनमार्फत जनताद्वारा परीक्षण हुने लोकतान्त्रिक अभ्यासप्रति सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एमालेले जननिर्वाचनलाई सधैँ सम्मान गर्छ, तर यो सरकारले निर्वाचनबाट पिठ्युँ फर्काउने सङ्केत दिइरहेको छ, उसका कार्यशैली र व्यवहारले नै निर्वाचन गराउने चाहना नभएको घाम जत्तिकै स्पष्ट बनाएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने जिम्मेवारी पाएको भए पनि त्यसको तयारी र पूर्वसन्ध्याका कामहरूमा पूर्ण बेवास्ता गरेको उहाँको भनाइ छ । दलहरूसँग संवाद र छलफल गर्नुको साटो सरकारले निषेधात्मक कदमहरू चाल्दै राजनीतिक स्वतन्त्रता र अभिव्यक्तिमाथि नियन्त्रण गर्न खोजिरहेको उहाँको भनाइ छ । उहाँले सरकारको यस्तो कार्यशैलीले लोकतन्त्रको मर्ममाथि नै प्रहार गरेको बताउनुभयो ।

यदि सरकारले घोषित मितिमा निर्वाचन गराउँदैन र जनप्रतिनिधिमूलक संस्था संसद्लाई पनि निष्क्रिय पारिन्छ भने मुलुक भयानक राजनीतिक सङ्कट र दुर्घटनातर्फ धकेलिने उहाँले चेतावनी दिनुभयो । उहाँले अहिलेको अवस्थामा देशलाई त्यस किसिमको सङ्कटबाट जोगाउनका लागि राजनीतिक सहमति र राष्ट्रिय एकताको आवश्यकता अत्यन्त बढेको बताउनुभयो ।

देशलाई स्थायित्व र दिगो शान्तितर्फ अघि बढाउन तत्काल विघटित संसद्को पुनःस्थापना गरेर त्यसबाटै सर्वदलीय राष्ट्रिय सरकार निर्माण गर्नुपर्ने समय आएको बर्ताैलाकाे धारणा छ। उहाँले त्यही सरकारले संविधानका विवादास्पद विषयहरूको किटान गर्दै आवश्यक संशोधन प्रक्रिया अघि बढाउन र अन्ततः ताजा जनादेशमा लागि शीघ्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

बर्तौलाले वर्तमान परिस्थितिमा मुलुक, संविधान र लोकतान्त्रिक मूल्यप्रति आस्था राख्ने सम्पूर्ण नागरिक, राजनीतिक दलहरू, लोकतान्त्रिक, देशभक्त र राष्ट्रवादी शक्तिहरू एउटै मोर्चामा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘देशलाई स्थिरता, स्थायित्व र दिगो शान्तितर्फ लैजान सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्न जरुरी छ, यसरी मात्रै मुलुकलाई अबको भयावह सङ्कटबाट मुक्त गर्न सकिन्छ’, उहाँको धारणा छ ।

मुलुकलाई सङ्कटबाट निकाल्ने एक मात्र बाटो जननिर्वाचन भएको उहाँले उल्लेख गर्नु भएको छ। ‘हामीले ल्याएको लोकतन्त्रको आत्मा नै आवधिक निर्वाचन हो, जनतामार्फत नै म्यान्डेट लिएर अघि बढ्दा मात्र देश स्थिर र शान्त हुन्छ’, बर्ताैलाकाे भनाइ छ ।