काठमाडौं, असोज ३१ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा एमालेले गरेका अभूतपूर्व कामकै कारण पार्टी र अध्यक्ष केपी शर्मा ओलीमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेको धारणा राख्नुभएको छ ।
पार्टीको दसौँ केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले पछिल्ला घटनाक्रम कुनै आकस्मिक वा स्वतःस्फूर्त आन्दोलन नभई, अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालमा राष्ट्र विरोधी राजनीतिक अभियानको रूपमा सञ्चालन गरेको ‘पूर्व–योजनाबद्ध अपरेसन’ भएको बत्ताउनुभयो । ‘भदौ २३–२४ का घटना केवल असन्तोषको विस्फोट होइनन्, ती आन्दोलनको आवरणमा भएका योजनाबद्ध हमला हुन्, उनीहरूको लक्ष्य राष्ट्र, संविधान, समृद्धि र लोकतन्त्रमाथि प्रहार गर्नु थियो, जसका कारण नेकपा (एमाले) प्रत्यक्ष रूपमा निशानामा पर्यो।’
बस्नेतले जेनजी आन्दोलनलाई पनि विदेशी शक्तिको दीर्घकालीन रणनीतिक हस्तक्षेपको रूपमा प्रस्तुत गर्नुभयो । १९९० को उत्तरार्धदेखि २०१० को सुरुवातसम्म जन्मिएका युवालाई जेनजी भनेर चिनिने भए पनि नेपालमा सो पुस्ताको वास्तविक असन्तोषलाई विदेशी शक्तिले विकृत ढङ्गले प्रयोग गरेको हो । उहाँले भन्नुभयो, ‘अध्ययनले देखाउँछ, यस्ता किसिमका जेनजी आन्दोलनहरू विश्वका ११ देशमा भइसकेका छन् र ती सबैमा समान योजना, एउटै प्रकारका झण्डा, प्रतीक, डिस्काेर्ड एपमार्फत योजनाबद्ध समन्वय, समान एनजिओ–आइएनजीओ नेटवर्क, र लक्षित संरचनाहरूमा तोडफोडका लागि पूर्व तयारी गरिएको पाइन्छ।’
उहाँले नेपालमा भएको आन्दोलन पनि त्यही नमुनामा सञ्चालन भएको उल्लेख गर्नुभयो । बस्नेतका अनुसार, यो केवल स्थानीय असन्तोष मात्र नभएर बाह्य शक्तिद्वारा निर्देशित अन्तर्राष्ट्रिय पोलिटिकल अपरेसन हो । जसको उद्देश्य नेपालको राष्ट्रिय संरचना, संविधान र राजनीतिक स्थायित्व ध्वस्त पारेर आफ्नो स्वार्थ पूर्ति गर्नु हो ।
बस्नेतले वास्तविक नेपाली युवाहरूको असन्तोष व्यवस्थागत सुधारप्रतिको चाहनासँग सम्बन्धित रहेको बताउनुभयो । ‘हाम्रो युवा पुस्ताको माग व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन हो, तर विदेशी शक्तिहरूले यही असन्तोषलाई प्रयोग गरेर देश विरोधी दिशामा मोडिदिए’, उहाँले भन्नुभयो ।
उहाँले काठमाडौंका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो योजनामा मतियारको भूमिकामा रहेको आरोपसमेत लगाउनुभयो । बस्नेतले भन्नुभयो, ‘ब्ल्याक–एनर्जीको प्रतीक लुसिफर का रूपमा चिनिँदै आएका बालेन, जेल तोडेर जनता झुक्क्याउन खोजिरहेका रवि लामिछाने र मौकामा चौका हान्ने प्रचण्ड यी सबै आन्दोलनका मुख्य मतियार हुन्, उनीहरूमाथि उचित कानुनी कारबाही हुनुपर्छ ।’
उहाँले पार्टीलाई अझ सशक्त, अनुशासित र एकताबद्ध बनाउनका लागि नेतृत्व परिवर्तनको चर्चा अनावश्यक रहेको धारणा पनि राख्नुभयो । ‘अध्यक्षको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टीलाई सुदृढ बनाउने समय हो, निष्क्रिय र प्रभावहीन पदाधिकारीहरूको पुनर्मुल्याङ्कन गरी केन्द्रीय कमिटी पुनर्गठन गर्नुपर्छ र पार्टीविरुद्ध लाग्नेहरूलाई बिदा दिनुपर्छ।’
बस्नेतले हालको सरकारले संविधानको मर्म विपरीत बनेको भन्दै त्यस विरुद्ध कानुनी र जनस्तरीय प्रतिरोध अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँका अनुसार, ‘असंवैधानिक रूपमा प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र उनको असंवैधानिक सरकारविरुद्ध कानुनी कारबाही आवश्यक छ।’
उहाँले आन्दोलनको नाममा तोडफोड, चोरी, डकैती र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । साथै, प्रभावितहरूलाई राहत र पुनर्निर्माणका लागि दबाब सिर्जना गर्नुपर्ने सुझावसमेत दिनुभयो ।
बस्नेतले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न लोकतान्त्रिक दलहरूसँग सहकार्य गर्दै आवश्यक परे संयुक्त मोर्चा बनाएर आन्दोलन गर्नुपर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो । उहाँले एनजिओको प्रभावमा बनेको सरकार निरङ्कुशतामा उन्मुख भएको दाबी गर्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित चुनावका लागि पार्टीले जनसंघर्षमार्फत वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पोखरामा हुने ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई पुनः एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्नुपर्ने प्रस्ताव पनि राख्नुभयो । विद्या भण्डारीजस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तर्द्वन्द्व बढाउन नहुने उहाँको धारणा छ । ‘अध्यक्ष ओलीको विकल्प खोज्नेहरू अन्ततः प्रचण्ड र माधव नेपालको साथमा पुग्ने खतरा छ, बरु अब हामी आफैँ नयाँ पुस्ताको रूपमा विकल्प बनेर आएको सन्देश दिनुपर्छ’, उहाँले भन्नुभयो ।
बस्नेतले पार्टीमा सबै निकायमा युवा नेतृत्वको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अब हामीसँग लड्ने चुनौती स्विकार्नुस्, हामी तयारी अवस्थामा छौँ,पार्टीको सबै तहमा युवा नेतृत्वको जिम्मेवारी दिनु आवश्यक छ।’
उहाँले यो कठिन समयमा चुनौतीको सामना गर्न सक्षम पार्टी एमाले मात्रै भएको दाबी गर्नुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विशेष प्रतिवेदनलाई पूर्ण समर्थन जनाउँदै सर्वसम्मत रूपमा पारित गर्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्