काठमाडौं, असोज ३१ । नेकपा एमालेले भदौ २३ र २४ गते मुलुकमा घटित घटनाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थिति प्रति संवेदनशील हुँदै गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकले राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, शान्ति, विकास र समृद्धिको बाटो नै अनिश्चित भविष्य एवं सङ्कटको दिशातिर उन्मुख भइरहेको वर्तमान अवस्थामा मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउन सक्रिय भूमिका खेल्ने सङ्कल्प गरेको छ । ‘त्यसका लागि सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध र अविचलित दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ’, एमालेले पास गरेको प्रस्तावमा उल्लेख छ ।
सामाजिक सञ्जालको निर्बाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर जेनजी युवाहरूले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबाट नेकपा (एमाले) स्तब्ध भएको पार्टीले जनाएको छ । ‘घटनामा परी जीवन गुमाउनु हुने युवाहरू एवं कर्तव्य पालनाको सिलसिलामा अराजक समूहहरूद्वारा बर्बर हत्या गरिनुभएका सुरक्षाकर्मी र नागरिकहरूप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफन्तको वियोगमा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ’, एमालेले निर्णय गरेको छ ।
नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनभित्र घुसपैठ र दुरुत्साहन मार्फत जसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै नभएको पार्टीको निष्कर्ष छ । तथ्यहरूले भदौ २३ गते कुनै न कुनै दुखद घटना घटाएर भदौ २४ गते देश दहन गर्ने सुनियोजित तयारी भइरहेको थियो भन्ने पुष्टि गर्छन्, यस घटनाको स्वतन्त्र, निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ, सबै तथ्यहरू बाहिर ल्याइनुपर्छ र संलग्न दोषीहरूलाई कारबाही गरिनुपर्छ भन्ने माग गर्दछ’, एमाले बैठकको निर्णय छ ।
भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रूपमा गरिएको देश दहनको आपराधिक कृत्यको नेकपा (एमाले) निन्दा र भर्त्सना गरेको छ । ‘राष्ट्रपति भवन, ऐतिहासिक सिंहदरबार, सङ्घीय संसद्, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, सयौँ प्रहरी कार्यालय, अख्तियार लगायत संवैधानिक निकाय, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, प्रदेशसभा र मुख्यमन्त्री कार्यालय लगायत प्रादेशिक संरचना, विभिन्न पालिका भवन र अन्य सरकारी कार्यालयमा आगजनी र ध्वस्त पार्ने गतिविधि कुनै स्वतःस्फूर्त घटना थिएन, बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरू जलाएर खरानी बनाइएको छ, विभिन्न मिडिया हाउस, होटेल, डिपार्टमेन्ट स्टोर, केबुल कार, गाडीका सोरूम, ब्याङ्क लगायत उद्योगी व्यवसायीहरूका कयौँ मूल्यका सार्वजनिक र निजी सम्पत्ति सखाप पारिएको छ, राजनीतिक दलका कार्यालय, लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताहरूका सालिक, स्मारक र आश्रम एवं नेता कार्यकर्ताका निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको छ, ठुलो मात्रामा प्रहरीका हतियार, गोलीगठ्ठा र लजिस्टिक लुटिएको छ जेल तोडेर १३ हजार भन्दा बढी कैदी बन्दीहरू भगाइएको छ, निर्दोष मान्छेहरूलाई घरभित्र जिउँदै जलाइएको छ, यी आपराधिक घटनाहरूको उद्देश्य एकै साथ मुलुकको लोकतान्त्रिक संरचना ध्वस्त पार्ने, अर्थतन्त्रको मेरुदण्ड भाँच्ने, समाजमा भय र त्रासको वातावरण बनाउँदै नागरिकहरूलाई निरीह तुल्याउने र क्रमशः असफल राष्ट्रतिर धकेल्ने हो भन्ने स्पष्ट छ’, एमालेको निष्कर्ष छ ।
देशलाई माया गर्ने कुनै पनि नवयुवाबाट यस्तो काम हुन सक्छ भन्ने नेकपा (एमाले) लाई नलागेको स्पष्ट पारेको छ । ‘यो जेनजीहरूबाट भएको होइन भन्नेमा पार्टी विश्वस्त छ, देशलाई दशकौँ पछाडि धकेल्ने यस अपराधको गहिरो, सूक्ष्म र निष्पक्ष छानबिन हुनुपर्छ, बाहिर देखिएका र पर्दाभित्रका अपराधीहरू समेतलाई कडा कानुनी कारबाही गरिनुपर्छ भन्ने यो बैठक माग गर्दछ’, एमालेको माग छ ।
यति गम्भीर, सुनियोजित र विभिन्न शक्ति केन्द्रहरू संलग्न घटनाको छानबिनका लागि सोही अनुरूपको दक्षता, विज्ञता र निष्पक्षता आवश्यक पर्ने एमालेको ठहर छ । तर सरकारले गठन गरेको छानबिन आयोगमा रहेका कतिपय व्यक्तिहरूको दुराग्रह, दूषित सोच र मनसाय सार्वजनिक भइसकेको एमालेले जनाएको छ ।
कुनै तथ्यले पुष्टि नगरे पनि निश्चित राजनीतिक नेताहरूलाई आरोपित गर्ने पूर्व योजना बोकेका व्यक्तिहरूबाट यति गम्भीर घटनाको यथार्थ बाहिर आउँछ भन्ने विश्वास नरहेको एमालेले जनाएको छ । ‘तसर्थ, केन्द्रीय कमिटीको यो बैठक सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष छानबिन समिति बनाउनु पर्छ भन्ने मान्यता राख्दछ, नागरिक स्तरबाट पनि यसको स्वतन्त्र छानबिन होस् भन्ने हाम्रो आग्रह छ, हाम्रो पार्टी आफै पनि समग्र घटनाहरूको सूचना र तथ्यहरू सङ्कलन गर्ने, तिनको विश्लेषण गर्ने र उपयुक्त समयमा विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछ’, एमालेले भनेको छ ।













प्रतिक्रिया दिनुहोस्