काठमाडौं, असोज ३१ । नेकपा एमालेले विगतमा नेकपा (एमाले) मा रहेर पार्टी निर्माणमा योगदान गर्नुभएका र विभिन्न कारणले अहिले पार्टी बाहिर रहनुभएका सबै नेताहरूलाई घर फर्किन आह्वान गरेको छ ।
पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकले पार्टी छाडेर गएका नेताहरूलाई पार्टीमा नै फर्कन आह्वान गरेको हो । ‘कमरेडहरूलाई ससम्मान पार्टीमा स्वागत गर्न पार्टी तयार रहेको जानकारी पनि हामी सार्वजनिक गर्दछौँ’, पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पास गरेको छ ।
नेकपा (एमाले) हमेसा सुशासन, पारदर्शिता र स्वच्छताको पक्षमा उभिँदै आएको उल्लेख गर्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहदाबाट राजीनामा दिएर राज्यका अख्तियार प्राप्त राज्यका निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानुनबाट सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने एमालेको परम्परा रहँदै आएको एमालेले स्मरण गराएको छ । ‘भ्रष्टाचारको विरोधमा नवयुवाहरूको समेत आवाज उठिरहेको सन्दर्भमा हाम्रो पार्टी विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ, चर्चामा रहेका सबै भ्रष्टाचारका विषयहरू र दोषी देखिएकाहरूलाई कानुन बमोजिम कारबाही गरिनुपर्छ भन्ने कुरामा थप जोड दिन चाहन्छ, राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरून् भन्ने आग्रह गर्दै यस कार्यमा पार्टीको सहयोग रहने विश्वास दिलाउन चाहन्छौँ’, एमालेले भनेको छ ।
एकाध व्यक्तिहरूका गल्तीका कारण सबै भ्रष्ट हुन भनेर खडा गर्न खोजिएको भाष्य चिर्नु पर्ने एमालेले धारणा राखेको छ । ‘हाम्रो पार्टीको केन्द्रीय अनुशासन आयोगले पनि यस विषयमा गम्भीरतापूर्वक काम अगाडि बढाओस् भन्ने केन्द्रीय कमिटी ध्यानाकर्षण गर्दछ, उपयुक्त समयमा हामीले सरकारमा रहँदा हामीले गरेका ऐतिहासिक काम, उपलब्धि र सफलतासँगै रहन गएका कमीहरूका बारेमा गम्भीर समीक्षा गरी व्यवस्थित प्रतिवेदन श्वेतपत्रका रूपमा जनता समक्ष ल्याउने विश्वास दिलाउन चाहन्छौँ’, एमालेले निर्णय गरेको छ ।
नेकपा (एमाले) मुलुकको विकास र समृद्धिका लागि नव युवाहरूसँग अझ सार्थक संवाद गर्न, उहाँहरूका सरोकारलाई ग्रहण गर्न, सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको र तदनुरूप पार्टीका संरचनाहरूमा युवा सहभागिता अभिवृद्धि गर्न एवं सरकारमा रहँदा उद्यमशीलता, सिप विकास, उत्पादन र बजार शृङ्खलाको इकोसिस्टम निर्माण गर्न, स्टार्ट अप, नवप्रविधि मार्फत नवप्रवर्तनको विकास लगायत क्षेत्रमा विभिन्न कदम चालिएको एमालेले जनाएको छ । युवाको भविष्य लोकतन्त्र, शान्ति र स्थायित्वमा मात्रै रहेको कुरामा जोड दिँदै एमालेले नवयुवाहरूलाई कुनै पनि हिंसा र विध्वंसबाट अलग रहन, शान्तिपूर्ण आन्दोलनको दोहन गरेर देशलाई दहन गर्ने अपराधीहरूको पहिचान गर्न र राजनीतिक दलहरूसँग सार्थक संवादमा आउन एमालेले आह्वान गरेको छ । एमाले पुनर्स्थापना हुने संसद् मार्फत युवाका माग संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता एमालेले जनाएको छ ।
भर्खरै सरकारले गम्भीर सामाजिक आर्थिक समस्याका रूपमा रहेको भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासहरूको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि समस्या समाधान आयोगलाई विघटन गरेको प्रति एमालेले आपत्ति जनाएको छ । यसले आवासको मौलिक हक कार्यान्वयन हुने पर्खाइमा रहेका ३ लाखभन्दा बढी भूमिहीन सुकुम्वासीहरू र दशकौँदेखि मर्कामा रहेका अव्यवस्थित बसोबासहरूको भविष्य अनिश्चयको भुँवरीमा धकेलिएको एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले सरकारको सो निर्णयलाई जनविरोधी निर्णय भन्दै विरोध जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्