काठमाडौं, असोज ३१। नेपाली कांग्रेसले सरकार निर्वाचन गराउने कुरामा प्रतिबद्ध नरहेको जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति शुक्रबारकाे बैठक पछि पार्टी प्रवक्ता प्रकाशशरण महतले सरकार आफ्नै प्रतिबद्धता अनुसार चल्न नसकेको बताउनुभयो । प्रवक्ता महतले हालको सरकारले निर्वाचन गराउने प्रतिबद्धता जनाए पनि त्यस दिशामा आवश्यक तयारीमा गम्भीरता पूर्वक नलागेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार निर्वाचन गराउने भन्दै छ तर कामको शैली हेर्दा त्यसतर्फ गम्भीर देखिँदैन, पछिल्लो अवस्थामा राजदूत फिर्ता गरिँदै छ, जसले अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्छ, अहिले सम्पूर्ण शक्ति र ऊर्जा निर्वाचनका तयारीमा केन्द्रित गर्न आवश्यक छ ।’
मंगलबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सुरु भएको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रस्तुत १० वटा प्रस्तावमाथि केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूले आफ्ना–आफ्ना धारणा राख्ने क्रम जारी रहेको पार्टी प्रवक्ता महतले जानकारी दिनुभयो ।
आजको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला सङ्ग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मीकि, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी तथा प्रदेश सभापतिहरू उद्धव थापा (कोसी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) सहितका नेताहरूले धारणा राख्नुभएको छ ।
बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने तय गरिएको प्रवक्ता महतले बताउनुभयो । उहाँका अनुसार, बैठकमा प्रस्तुत विषयहरूमा विस्तृत छलफल भइरहेको छ र अन्त्यमा सबै प्रस्तावहरूबारे निष्कर्षमा पुगिनेछ ।













प्रतिक्रिया दिनुहोस्