मकवानपुर, कात्तिक १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भदौ २३ र २४ का दिन भएका हिंसात्मक घटनामा विदेशी शक्ति र तिनका एजेन्टहरूको प्रत्यक्ष चलखेल रहेको बताउनुभएको छ । उहाँले युवाहरुलाई भड्काएर देशलाई अस्थिर बनाउने प्रयत्न भएकाे भन्दै घटनाको गम्भीर छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) मकवानपुर जिल्ला समितिद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्व २०८२ को अवसरमा शनिबार आयोजित विशेष कार्यक्रममा बोल्दै ज्ञवालीले भदौ २४ गते देशलाई नै समाप्त पार्ने गरी हिंसात्मक कार्य गरिएको बताउनुभयाे । ‘यी सबै विदेशी एजेन्टहरूले दिएका आदेश हुन्,’ उहाँले भन्नुभयाे ।
उहाँले देशभित्र देखा परेका अशान्ति र असन्तोषकाे जरा विदेशी शक्ति र प्रभावित समूहहरूको चलखेलमा रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार आन्दोलनका नाममा प्रहरी चौकी कब्जा गर्ने, आगजनी र तोडफोडजस्ता कार्य पूर्वनियोजित ढंगले गराइएका थिए । भदाै २३ गतेकाे घटनमा त्यति धेरै युवाहरुकाे ज्यान प्रहरीकाे गाेलिबाट नएकाे उहाँले बताउनुभयाे । ‘नेपालको प्रहरी भिड नियन्त्रणमा दक्ष छ,’ उहाँले भन्नुभयो ।
ज्ञवालीले जेनजीको नाममा भएको आन्दोलन सरकार ढाल्ने मात्र नभई देशलाई नै सिध्याउने उद्देश्यले चलाइएको दाबी गर्नुभयो । उहाँका अनुसार म्यापमा पिन लगाएर कुन घर जलाउने भन्ने पूर्वतयारीका साथ आगजनी गरिएको थियो ।
देशमा विदेशी हस्तक्षेप बढ्दै गएको भन्दै उहाँले सबै दल, युवापुस्ता र सचेत नागरिकले राष्ट्रिय हितमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्