जनता टाइम्स

२ कार्तिक २०८२, आईतवार ०७:४८

जेनजी आन्दोलनका नाममा प्रतिक्रान्ति र प्रतिगमन भयो : डा. पुष्पराज कँडेल


धादिङ, कात्तिक २ । नेकपा (एमाले) लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेलले गत भदौ २३ र २४ गते जेनजीका नाममा गरिएको आन्दोलनलाई प्रतिक्रान्ति र प्रतिगमनको प्रयास भएको टिप्पणी गर्नुभएको छ।

धादिङबेसीमा नेकपा एमाले क्षेत्र नं. २ क्षेत्रीय समन्वय कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले क्रान्तिबाट प्राप्त उपलब्धिहरू समाप्त पार्न पुँजीवादले समर्थन गरेको आन्दोलनले संसद्, संविधान र सरकार नै अन्त्य गर्ने प्रयास गरेको बताउनुभयो।

डा. कँडेलले अहिलेको सरकारलाई ‘असंवैधानिक’ र ‘बुख्याचा’ सरकारको संज्ञा दिँदै, यसले गर्ने सबै कामहरू पनि असंवैधानिक हुने दाबी गर्नुभयो। नेकपा (एमाले) हालै सम्पन्न केन्द्रीय समिति बैठकले संसद् पुनः स्थापनाको पक्षमा स्पष्ट अडान लिएको र त्यसका लागि आन्दोलन गर्ने निर्णय गरेको उहाँले जानकारी  दिनुभयो ।

उहाँले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको फैसलाले नै संसद् विघटन असंवैधानिक भएको ठहर गरिसकेको स्मरण गराउनुभयो। त्यसैले संसद् विघटन असंवैधानिक काम भएको उहाँले बताउनुभयो ।

डा. कँडेलले सरकारले गठन गरेको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पूर्वाग्रहपूर्ण रूपमा निष्कर्ष निकाल्ने काम गरेको भन्दै त्यसलाई अस्वीकार गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार, एमालेको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा गठन हुने छानबिन आयोगलाई मात्र मान्यता दिने निर्णय गरेको छ। ‘एमालेले सरकारलाई खुला चुनौती दिइसकेको छ-जो कसैको पनि भ्रष्टाचारमा छानबिन गरौँ, तर निष्पक्ष र संवैधानिक प्रक्रिया अपनाऔँ,’ कँडेलले भन्नुभयो।

उहाँले एमाले सरकारका पालामा भएका राम्रा कामहरूको प्रचार गर्न र पार्टी नेतृत्वको संरक्षणमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य खेम लोहनीले पार्टीले राष्ट्रियता, विकास र समृद्धिका लागि अग्रसर भएर काम गरिरहेको बताउँदै विदेशी शक्तिहरूले देश अस्थिर बनाउन षड्यन्त्र गरेका बताउनुभयो। ‘देश र जनताको पक्षमा काम गर्न सक्ने शक्ति एमाले मात्रै हो,’ लोहनीले भन्नुभयो।

नेकपा (एमाले) धादिङ अध्यक्ष भूमि त्रिपाठीले भदौ २३ गतेपछि जेनजी आन्दोलन अपहरणमा परेको दाबी गर्दै विदेशी निर्देशनमा देशमा अपराध र अशान्ति बढेको बताउनुभयो। उहाँले एमाले कार्यकर्तालाई समयमै त्यसको विरुद्ध संगठित रूपमा उत्रन आह्वान गर्नुभयो।

कार्यक्रममा वाग्मती प्रदेश कमिटी सदस्य धनबहादुर घले, उमेश थापा, कृष्ण लामा, जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा लगायतले शुभकामना दिँदै देशभक्त नागरिकहरूलाई एमालेमा संगठित हुन र असंवैधानिक कदमविरुद्ध एकताबद्ध भएर लड्न आह्वान गर्नुभयो।

कार्यक्रमको अध्यक्षता क्षेत्र नं. २ क्षेत्रीय समन्वय कमिटी संयोजक भक्तबहादुर लामिछानेले गर्नुभएको थियो ।