जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार १४:२४

अखिल (क्रान्तिकारी) रामेछापलाई फुलासी फुटबल प्रतियोगिताको उपाधि


रामेछाप, कात्तिक ४ । मन्थली नगरपालिका–१३ फुलासीमा आयोजित श्री फुलासी जनप्रिय युवा क्लब (पीजेवाईसी) द्वारा आयोजित तेस्राे खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि अखिल (क्रान्तिकारी) रामेछापले जितेको छ। कात्तिक १ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिता आज समापन भएको हो।

१२ टिम सहभागी प्रतियोगिताको फाइनलमा अखिल (क्रान्तिकारी) रामेछापले एबीसी मन्थलीलाई पराजित गर्दै विजेता बनेको हो। उपविजेता एबीसी मन्थलीपछि आयोजक क्लब ‘पीजेवाईसी ए’ (फुलासी) र सृजना युवा क्लब (फर्पु)ले सान्त्वना स्थान प्राप्त गरेका छन्।

विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, उपविजेतालाई ३० हजार रुपैयाँ, र दुई सान्त्वना टोलीलाई १०–१० हजार रुपैयाँका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

वाग्मती प्रदेशसभा अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। समापन समारोहमा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रवक्ता गोपाल श्रेष्ठलगायतका अतिथिहरूले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयाे ।

आयोजक क्लबले स्थानीय युवाबीच खेलकुदप्रति रुचि र अनुशासन अभिवृद्धि गर्न तथा आपसी एकता सुदृढ गर्न प्रतियोगिता आयोजना गरिएको जनाएको छ।