जनता टाइम्स

५ कार्तिक २०८२, बुधबार ११:४८

रामेछापमा तिहारको बेला फूलको चरम अभाव


रामेछाप, कात्तिक ५ । यस वर्षको तिहार पर्वमा रामेछापका घर आँगन फूलविहीन बनेका छन् । सयपत्री र मखमलीजस्ता परम्परागत फूलहरू नफुलेका कारण जिल्लामा फूलको चरम अभाव देखिएको छ ।

तिहार सामान्यतया फूल फुल्ने समयमा पर्ने भए पनि यसपटक पर्व केही अघि परेकाले किसानका बारीमा लगाइएका फूल फुल्न नसक्दा अभाव देखिएको स्थानीयहरूले बताएका छन् । मौसमअनुसार सयपत्री र मखमली फूल कात्तिक १५ पछि मात्र राम्ररी फुल्ने गर्छन् । यस वर्ष तिहार त्यसभन्दा करिब दुई साता अघि आएकाले किसानका बारीमा फूल फुल्ने समय नै भएकाे छैन ।

बेसिजनको वर्षाले पनि यस वर्षको फूल उत्पादनमा ठूलो असर पारेको छ । लगातारको पानीले सयपत्रीका बोटहरू खुइलिएर गएको र मखमलीको बिरुवा समेत रोग लागेर मरेको किसानहरूको भनाइ छ ।

अघिल्लो वर्ष व्यवसायिक रूपमा लगाइएको फूल बजारमा नबिकेकाले धेरै किसानले यस वर्ष फूल खेतीमै हात हाल्न चाहेनन् । त्यसैले यस वर्ष मन्थली, सुनारपानी ओख्रेनी, खाँडादेवी, फुलासी लगायतका उत्पादनका क्षेत्रमा फूल खेती न्यून भएको छ ।

मन्थली नगरपालिका–५ का किसान रामबहादुर साहीका अनुसार,पो होर साल बजारमा फूल बिक्रि भएन । धेरै फूल बारीमै सड्यो । त्यसैले यो वर्ष  किसानले फूल नै लगाएनन् ।

फूल नफुल्दा बजारमा तिहारका लागि फूल खोज्ने उपभोक्ताहरू समस्या झेलिरहेका छन् । बजारमा मात्रै हाेइन गाउँमा पनि फूल खाेज्नेले फूल पाएका छैनन् । बजारमा केही स्थानमा सीमित मात्रामा पाइने सयपत्री फूल पनि महँगो मूल्यमा बिक्री भइरहेको छ ।

बजारमा आठ/दस थुँगा फूल एक सय रुपियाँभन्दा कममा नपाइने उपभोक्ताहरूको गुनासो छ । सानो गुच्छा फूल १ सय ५० देखि २ सय रुपियाँसम्म पर्ने र एउटा राम्रै माला बनाउन करिब एक हजार रुपियाँ बराबरको फूल लाग्ने स्थानीयहरूले बताएका छन् ।

फूलको अभावका कारण मानिसहरूले घरका ढोका, गेट र पूजा कोठामा पनि माला लगाउन सकेका छैनन् । कतिपयले तिहारको सजावटका लागि प्लास्टिकका कृत्रिम माला प्रयोग गर्न थालेका छन् ।

यद्यपि प्लास्टिकका फूल र माला बिक्रीमा स्थानीय सरकारले प्रतिबन्ध लगाएको थियो । तर यस वर्ष फूल नपाउँदा उपभोक्ता बाध्य भएर कृतिम माला किन्न पुगेका छन् । व्यापारीहरूले अभावको अवसर लिँदै प्रतिबन्धित माला महँगो दरमा बिक्री गरिरहेको स्थानीय उपभोक्ताकाे गुनासाे छ ।

यस वर्ष तिहारको उज्यालो फूलविहीन बनेको छ । सयपत्री र मखमलीको सुगन्धबिना रामेछापका बजार र घर–आँगनका तिहार केही फिक्का देखिएका छन् ।