रामेछाप, कात्तिक ६ । रामेछाप नगरपालिका–८ बाबियाखर्कका प्रह्लाद घिमिरे र उहाँकी श्रीमती शान्ता अहिले फलफूल खेतीमा रमाउनुभएको छ ।
सरकारी सेवाबाट अवकाश लिनु भएपछि घिमिरेले बाँझाे बसिरहेको आफ्नो जग्गामा विभिन्न जातका फलफूलका बिरुवा रोपेर हराभरा बनाउनुभएको छ । घिमिरे दम्पतीले आफ्नो सम्पूर्ण जग्गामा अहिले फलफूल खेती सुरु गर्नुभएको छ र रमणीय बगैँचा बनाउनुभएको छ ।
‘बगैँचामा आँप, लिची, जुनार, सुन्तला, निबुवा, आँटी, अम्बा, केरा, लगायतका बिरुवाहरू लगाएकाे शान्ता घिमिरेले बताउनुभयो । लगाइएका मध्ये केही बिरुवाले फल दिन थालिसकेका र केही अझै हुर्किँदै रहेका जानकारी उहाँले दिनुभयो । बिरुवा साना हुँदासम्म बिचमा मकै बाली पनि लगाउने गरेको बताउँदै उहाँले बिरुवा हुर्किएपछि भने फलफूलमै केन्द्रित बगैँचा बनाउने योजना सुनाउनुभयो ।

‘हाम्रा पुर्खाहरू भन्थे ३ सय ६५ झाङ केरा लगाउँदा दिनको एक घरी केरा पाक्छ, त्यसैले मैले पनि ३ सय ६५ झाङ केरा लगाएको हुँ,’ प्रह्लाद घिमिरेले भन्नुभयो । उहाँका अनुसार केराले उत्पादन दिन लागेपछि सरदर कम्तीमा दिनमा एक घरी केरा बिक्री गर्न सकिने अवस्था बन्ने छ । अघिल्लो वर्ष लगाइएका केराले यस वर्षबाट उत्पादन दिन थालेका छन् ।


उहाँहरूले आफ्नै १५ रोपनी जग्गामा २ सय बोट आँप, १ सय ५० बोट लिची, निबुवा, कागती, सुन्तला, जुनार, मरीच र ल्वाङका बिरुवाहरू हुर्काउनु भएकाे छ । त्यस्तै १० रोपनी जमिनमा मर्चमाने, मालभोग, झप्री, घ्यू लगायतका विभिन्न जातका केरा रोप्नुभएको छ ।
वरिपरिका जमिन बाँझै रहँदा घिमिरे दम्पतीले बनाउनुभएको यो बगैँचाले ‘गरे के हुँदैन’ भन्ने प्रेरणादायी सन्देश दिएको छ । ‘बिरुवाहरू राम्रोसँग सप्रिएका छन्, यसरी सप्रिएको देख्दा गरे के हुँदैन र भन्ने लागेको छ,’ उहाँले बताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्