काठमाडौं, कात्तिक १३। श्रममन्त्रीका रूपमा सिफारिस भए पनि फरार अभियुक्तको सूचीमा परेकाले शपथ ग्रहण गर्न नपाएका खगेन्द्र सुनार आज काभ्रे जिल्ला अदालतमा बयानका लागि हाजिर हुनुभएकाे छ ।
अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा दायर विद्युत कारोबारसम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेका सुनारलाई काभ्रे जिल्ला अदालतले गत साउन ५ गते दैलेख प्रहरीले पक्राउ गर्न अनुमति दिँदै पक्राउ पुर्जी जारी गरेको थियो। गौतमले उहाँलाई सामाजिक सञ्जालमार्फत गरिएको गालीगलौजसहितको प्रमाणका रूपमा स्क्रिनसटहरू राखी विद्युत अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गर्नुभएको थियो।
कानुन व्यवसायीसहित उपस्थित सुनारको बयान हाल जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा जारी रहेको छ । साे मुद्दमा आजै थुनछेक बहस पनि हुने र त्यसपछि अदालतले साधारण तारेख, धरौटीमा रिहा गर्ने वा थुनामा पठाउने निर्णय गर्नेछ।
सुनारमाथि सुर्खेतमा समेत स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा अर्को पक्राउ पुर्जी जारी भएको छ।













प्रतिक्रिया दिनुहोस्