जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार १८:३२

राहदानी छपाइका लागि पहल गरिदिन जर्मन राजदूतलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौँ, कात्तिक  १३ ।  प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको हो । प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएपछि उहाँहरुबीचको यो पहिलो भेट हो ।

यस क्रममा जर्मनीका राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि शुभकामना व्यक्त गर्दै सदाझैं नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले धन्यवाद व्यक्त गर्नुभयो ।यसैबीच प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो। उहाँले नेपाली नागरिकलाई छिटो(छरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभएको छ। जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताउनुभयो ।सोही भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।