काठमाडौं, कात्तिक १४ । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका पत्रकार गणेश पाण्डेको लमजुङस्थित घरमा तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटना छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
महासंघद्वारा शुक्रबार जारी विज्ञप्तिमा कात्तिक १३ गते राति बेसीशहर नगरपालिका–८ मा रहेको पाण्डेको घरमा अज्ञात व्यक्तिहरूले ढुङ्गा प्रहार गरी क्षति पुर्याएको उल्लेख गरिएको छ । महासंघले उक्त कार्यलाई ‘पत्रकारलाई त्रसित बनाउन खोजिएको असभ्य र आपराधिक व्यवहार’को रूपमा व्याख्या गर्दै घटनाको घोर भर्त्सना गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई डर देखाउने र सत्य समाचार लेख्न नदिने उद्देश्यले गरिएको यस्तो घटनाले पत्रकारिताको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि गम्भीर प्रहार भएको छ ।’
महासंघले सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी आक्रमणमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।नेपाल पत्रकार महासंघ लमजुङ शाखाले दिएको जानकारी अनुसार, ढुङ्गा प्रहारबाट पाण्डेको घरका झ्यालका सिसा फुटेका छन् र उहाँकी हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ ।
सो घरमा पाण्डेकी आमा र हजुरआमा बस्दै आउनु भएको छ ।पत्रकार महासंघले यस्तो प्रकारका आक्रमणले श्रमजीवी पत्रकारहरूको मनोबल कमजोर पार्ने चेतावनी दिंदै घटनाबारे छिटो र निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ ।यस अघि प्रेस चौतारी नेपालले पनि विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्