जनता टाइम्स

१४ कार्तिक २०८२, शुक्रबार २०:३८

माओवादीसँगको एकतामा सहभागी नहुने एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीको घोषणा


काठमाडौं, कात्तिक १४ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) सँग प्रस्तावित एकतामा आफूहरू सहभागी नहुने घोषणा गर्नुभएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले आज माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरेपछि नेतृ झाँक्रीले आपत्ति जनाउँदै सो निर्णयमा आफूहरू सहमत नभएको बताउनुभएको हो । उहाँले अध्यक्ष नेपालले माओवादीमा मिल्न ८८ जना केन्द्रीय सदस्य मनोनीत गरी पार्टीको बहुमत सुनिश्चित गरेर एकतामा जान लाग्नुभएको आरोप लगाउनुभएको छ ।

उहाँले माओवादीसँग समायोजन हुन आतुर नेताहरूलाई माओवादीमै जान सुझाउँदै आफूहरूले उहाँहरूलाई बिदाइ गर्ने बताउनुभयो ।  तर यस्तो समायोजन बलियो नहुने उहाँले स्पष्ट पार्नुभयो  । यसरी गरिएको मिल स्थायी नहुने बताउँदै उहाँले बितेको नेकपामा भएको जस्तै विभाजन दोहोरिने बताउनुभयो ।

नेतृ झाँक्रीको भनाइपछि पार्टीभित्र पुनः वैचारिक विभाजन खुलेर देखिएको छ । अध्यक्ष नेपाल र केही शीर्ष नेताहरू तत्काल एकताको पक्षमा देखिँदा झाँक्री लगायतका नेताहरू भने पार्टीको पुनर्गठन र वैचारिक रूपान्तरणपछि मात्र सम्भावित एकताको पक्षमा छन् ।

पार्टीभित्रको यस मतभेदले नेकपा (एकीकृत समाजवादी) आगामी दिनमा कुन दिशातर्फ अग्रसर हुन्छ भन्ने प्रश्न पुनः चर्चाको केन्द्रमा आएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, झाँक्रीको यो कडा प्रतिक्रिया अध्यक्ष नेपालको एकता योजना प्रति असन्तुष्टि मात्र होइन, पार्टीभित्र वैचारिक अनुशासन र स्वायत्तताका विषयमा पनि गम्भीर सन्देश दिएको छ ।