जनता टाइम्स

१ मंसिर २०८२, सोमबार १०:३९

काठमाडौं महानगरका योजनाको गुणस्तर सुनिश्चिततामा कडाइ गरेका छौँ : उपप्रमुख सुनिता डङ्गोल


काठमाडौं, मंसिर १। काठमाडौँंमहानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले चालु आर्थिक वर्षका लागि स्वीकृत योजना, कार्यक्रम र बजेटको कार्यान्वयनलाई मितव्ययी, गुणस्तरीय र दिगो बनाउन अनुगमन तथा मूल्याङ्कन प्रक्रियालाई थप सक्रिय बनाइएको जानकारी दिनुभएको छ।

उहाँका अनुसार महानगरका सबै विभाग, एकाइ, सचिवालय, आयोजना तथा कार्यक्रमहरूले साउनदेखि असोज मसान्तसम्म सम्पादन गरेका कार्य र प्राप्त परिणामसम्बन्धी विवरण माग गरिएको छ। सार्वजनिक खरिद प्रक्रियामार्फत कार्यान्वयनमा पुगेका योजनाको विस्तृत विवरण पनि सङ्कलन भइरहेको उपप्रमुख डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो कि ‘योजना निर्माणका डिजाइन, खरिद प्रक्रिया तथा सम्झौतामा तोकिएका बुँदाको विश्लेषणसँगै निर्माण स्थलको पूर्वअवस्थादेखि नै अनुगमन नियमित रूपमा अघि बढाइनेछ।’

उपप्रमुख डङ्गोलले अब योजना कार्यान्वयन र निर्माण सम्पन्न भएपछि पनि विस्तृत अनुगमन गरिने उल्लेख गर्नुभयो। निर्माण सामग्रीको गुणस्तर तथा निर्माणपछि प्राप्त स्तर प्रयोगशालामार्फत परीक्षण गरी मापदण्ड सुनिश्चित गरिने उहाँको भनाइ छ।

योजना कार्यान्वयनले स्थानीय समुदायसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले देखिएका समस्या वा अनुभवहरू महानगरलाई अवगत गराई गुणस्तरीय पूर्वाधार निर्माणमा सहयोग गर्न उपभोक्ताहरूलाई उहाँले आग्रह गर्नुभयो।

उहाँले महानगरको विकास जिम्मेवारी सरकार र जनताले सँगसँगै पूरा गर्नुपर्ने भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएकाे छ ।