काठमाडौं, मंसिर १३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका विगतका कमजोरीलाई सच्याउँदै जनताको चाहना र अपेक्षाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।शनिवार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश तथा आत्मालोचना सभा’ लाई सम्बोधन गर्दै प्रचण्डले १५ वटा कम्युनिस्ट घटकहरू मिलेर बनेको वर्तमान नेकपा केवल चुनाव जित्ने उद्देश्यले नभई राष्ट्र र जनताको रक्षा गर्ने ऐतिहासिक सङ्कल्पका साथ गठन भएको स्पष्ट पार्नुभयो । उहाँले संविधानसभाबाट संविधान जारी गरेको लामो सङ्घर्ष र बलिदानको उपलब्धि भए पनि जनअपेक्षाअनुरूप परिणाम दिन नसकेको स्वीकार गर्नुभयो ।
हामीले राष्ट्र र जनताको पक्षमा पटक–पटक प्रयास गर्यौँ, तर अपेक्षित नतिजा हासिल गर्न सकेनौँ । कहाँ कमी भयो, कहाँ त्रुटि भयो भनेर हामी बिस्तारै समीक्षा गर्दै छौँ,’ प्रचण्डले भन्नुभयो । उहाँले सभालाई “आत्मालोचना सभा” र “नयाँ सङ्कल्प सभा” को संज्ञा दिँदै विगतका गल्ती दोहोरिन नदिने दृढता व्यक्त गर्नुभयो ।
पछिल्लो समयको युवा आन्दोलनले पुरानो पुस्ताका नेतालाई गम्भीर रूपमा झकझक्याएको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, नयाँ पुस्ताको यो आन्दोलनले हामी सबैलाई घच्घच्यायो । यसले हामीमा थप गम्भीर आत्मसमीक्षा र आफूलाई बदल्ने आवश्यकता महसुस गरायो । युवाहरूको भावना र जनताको चाहनाअनुसार काम गर्न हामी बदलिनुको अब विकल्प छैन ।’मजदुर, किसान, दलित, महिला, मुस्लिम, थारु लगायत उत्पीडित समुदायको हकहितका लागि नयाँ ढङ्गले सङ्घर्ष गर्ने उद्घोष गर्दै उनले सुशासन, आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठोस परिणाम दिन नसकेकोमा आत्मालोचना गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्