जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार १८:३३

गाँउगाँउ जादै नेकपा : विशेष राजनीतिक अभियान सञ्चालन गर्ने


रमेश लम्साल \ शरद शर्मा

काठमाडौं, मंसिर १२

सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो ।

विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पु¥याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ । राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताउनुभयो ।

एकताका केही छिटफुट काम केही दिनभित्रै सम्पन्न गर्ने मनस्थितिमा आफूहरु पुगेको उहाँको भनाइ छ । “अब छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएर योजनाबद्धरुपमा जनताको बीचमा जाने तयारी गरिएको छ”, उहाँले भन्नुभयो । विशेष गरी नेकपाले सचिवालय बैठकमार्फत आवश्यक निर्णय लिँदै आएको छ । त्यसले पार्टी कमिटी संस्थागत नभएको आरोपसमेत बेलाबेलामा लाग्ने गरेको छ । अन्य एकताका कामले साकार रुप लिए पनि पोलिटब्यूरो गठन भने हुन सकेको छैन । पार्टीभित्र तत्काल स्थायी र केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने माग पनि उठेको छ ।

पार्टी एकतापछि स्थायी कमिटीको बैठक एक पटक मात्रै बसेको छ । पार्टीलाई बढी व्यवस्थित र वैज्ञानिक बनाउने लक्ष्यका साथ अब नियमितरुपमा कमिटीका बैठक राख्ने, योजना तय गर्ने र कार्यान्वयन गर्ने योजनामा नेकपा पुगेको छ । सचिवालयको पछिल्लो बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा मात्रै केन्द्रित रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन टुङ्गो लागेको छ ।

अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लागेसँगै पार्टी कामकारवाहीले जीवन्तता प्राप्त गर्ने विश्वास लिइएको छ । पार्टी सदस्यका रुपमा रहेका आठ लाख बढी नेता, कार्यकर्तालाई राष्ट्रियरुपमा परिचालन गर्ने योजनाका साथ पार्टी लागेको महासचिव पौडेलको भनाइ छ । ठूलो सङ्ख्यामा रहेका पार्टी नेता कार्यकर्तामा राजनीतिक कार्यक्रम र गतिविधि सुस्त हुँदा पार्टीले निकै ठूलो क्षति ब्यहोर्नुपरेको गुनासो पार्टीभित्रै उठ्दै आएको छ ।

एकता प्रक्रिया नटुङ्गिएका कारण कार्यकर्ता तहमा भएको अन्योल अहिले साम्य भएको भन्दै महासचिव पौडेलले तीन तहको सरकारले गरेका महत्वपूर्ण कार्य सम्पादनबारेमा जनता र कार्यकर्तालाई समेत जानकारी दिनका लागि अभियान जरुरी रहेको बताउनुभयो । अभियानसँगै सरकार र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आमपार्टी पङ्क्ति र जनसमुदायलाई एक साथ सन्देश दिन लागिएको उल्लेख गर्दै उहाँले त्यसले जनतासँगको सम्बन्धलाई समेत थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टी निर्माण र सञ्चालनका लागि हामीले कस्तो वैधानिक व्यवस्था गरेको छौँ भन्ने विषयमा आमकार्यकर्ता तहमा मतैक्य होस् भन्ने चाहना राखिएको छ । आजको नेकपाको सैद्धान्तिक र नीतिगत मान्यता के हुन् भन्नेमा थप स्पष्ट गर्नु जरुरी भएको छ ।” नेकपाले तत्कालका लागि समाजवाद उन्मुख ‘जनताको जनवाद’लाई आफ्नो कार्यक्रम बनाएको छ ।

राजनीतिक स्थिरता, देशको स्वतन्त्रता सार्वभौमसत्ता र छिमेकीसँगको सम्बन्धलाई केन्द्रमा राखेर नेकपा अगाडि बढेकाले पनि जनताले आफूहरुलाई थप विश्वास गर्ने उहाँको भनाइ थियो । वर्तमान सरकार गठन भएपछि विकास–निर्माणका कामले गति लिएको, नेपालको अन्तरराष्ट्रियस्तरमा छवि उच्च बनेको तथा संविधान कार्यान्वयनसँगै जनताले परिवर्तनको महसुस गरेको महासचिव पौडेल बताउनुहुन्छ ।

“सरकार गठन भएको यस अवधिलाई कुनै पूर्वाग्रह नराखीकन हेर्ने आम मान्छेले सहजै अनुमान गर्न सक्छन्, आलोचनाका लागि मात्रै आलोचना गर्नेलाई त मेरो भन्नु केही छैन”, उहाँले भन्नुभयो, “काठमाडौँ नागढुङ्गा सुरुङमार्ग निर्माणको काम शुरु भएको छ । देशव्यापीरुपमा नै सडक कालोपत्र भएका छन् । भेरी बबई डाइभर्सन आयोजनाको कामले गति लिएको छ । आर्थिक विकासका काम भएका छन् । केरुङ–काठमाडौँ रेलमार्ग तथा काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको कामसमेत अगाडि बढेको छ ।”

पछिल्ला दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगै देशका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटमा समेत संलग्न रहनुभएका महासचिव पौडेलले जनतामा नेकपाप्रतिको विश्वास उस्तै रहेको आफूले पाएको जानकारी दिनुभयो । “सरकारले काम गर्दैछ, नेकपा हाम्रै पक्षमा छ भन्ने विश्वास जनतामा छ”, उहाँले भन्नुभयो । राष्ट्रियताको विषयमा कोही कसैसँग सम्झौता नहुने भन्दै महासचिव पौडेलले नेपालको एक इन्च जमीन पनि नछाडिने दृढता व्यक्त गर्नुभयो । कालापानीको सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलका बीचमा राष्ट्रिय सहमति कायम भएको तथा सोही आधारमा सरकार अगाडि बढेको उहाँको भनाइ छ ।

“भारत सरकारलाई हाम्रो तर्फबाट ‘प्रोटेस्ट नोट’ पठाइएको छ । त्यहाँ तथ्य र प्रमाणका आधारमा कालापानी नेपालको हो भन्ने प्रष्ट पारिएको छ । सरकारले वार्ता र संवादमार्फत नेपालको भूमि फिर्ता ल्याउँछ”, उहाँले भन्नुभयो । केही राजनीतिक दलले अनावश्यक रुपमा राष्ट्रियता र सार्वभौमसत्ताको विषय उचालेको भन्दै महासचिव पौडेलले सरकारले उत्तेजनामा नआई जिम्मेवार भएर समस्याको समाधान गर्ने विश्वास दिलाउनुभयो ।