बिर्तामोड, मंसिर १५ । झापा जिल्लाका सबै क्षेत्रबाट नेकपा एमालेका महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा भएको छ। सोमवार साँझ क्षेत्र नं. २ को मतपरिणाम सार्वजनिक भएसँगै झापाका सबै क्षेत्रमा प्रतिनिधि छनौट सम्पन्न भएको हो।
झापा क्षेत्र नं. २ बाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि एक मन्त्री, दुई मेयरसहित ९ जना प्रतिनिधि निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ। खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि गरिएको मतदानमा २७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
कोसी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की १७ सय १६ मतसहित सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। त्यसै गरी, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी १४ सय ६८ मत, बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई १५ सय १ मत, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४ सय ६ मत र कोसी प्रदेशसभा सदस्य चिन्तन पाठक १४ सय १४ मतका साथ प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
पहिलो दिनको मतगणनामा बिर्तामोडमा मत छुटेको आरोपपछि विवाद उत्पन्न भई गणना स्थगित भएको थियो। सोमवार बिहानबाट खुल्ला तर्फको पुनः मतगणना सुरु भएको थियो। विवाद हुँदा झन्डै ६ सय मत गणना हुन बाँकी थियो।
महिला तर्फ झापा–२ बाट बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईँ १८ सय ८० मतसहित सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। त्यस्तै पवित्रा पाठक १६ सय ५८ मत र सुनिता खरेल १५ सय ८८ मतसहित प्रतिनिधिमा चयन हुनुभयो। युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४ सय ७७ मतसहित निर्वाचित हुनुभएको छ ।
झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फ १९ जना, महिला १२, युवा ५ र दलित २ सहित ३८ जना प्रतिनिधि सहभागी हुनेछन्। दलित तर्फका २ प्रतिनिधि सर्वसम्मत चयन गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।
अन्य क्षेत्रका परिणाम
क्षेत्र नं. १:
खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई निर्वाचित हुनुभएको छ। महिलातर्फ रमा भण्डारी र जानुका ओली तथा युवातर्फ दीपक बराल निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं. ३:
खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र वसन्त बानियाँ निर्वाचित हुनुभएको छ। महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित हुनुभयो ।
क्षेत्र नं. ४:
खुल्लातर्फ रोशन थोप्रा, रवीन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की निर्वाचित हुनुभयो। महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवातर्फ रोशन सुबेदी चयन हुनुभएको छ ।
क्षेत्र नं. ५:
खुल्लातर्फ अम्बिका प्रसाद खनाल, शिव दुगेल, होमबहादुर थापा र तुलसी कार्की निर्वाचित हुनुभएको छ। महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लीला ढुङ्गेल दाहाल तथा युवातर्फ युवराज पौडयाल (विवश) निर्वाचित हुनुभएको छ।
झापामा ३६ प्रतिनिधिका लागि ९५ जना उम्मेदवार प्रतिस्पर्धामा सहभागी भएका थिए।













प्रतिक्रिया दिनुहोस्