जनता टाइम्स

१६ मंसिर २०८२, मंगलवार १०:५४

युद्धस्तरमा काम गरे पुस महिना भित्रै कांग्रेसकाे महाधिवेशन सम्भव : प्रदीप पौडेल 


काठमाडौं, मंसिर १६। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्पन्न गर्न पूर्ण सम्भव रहेको बताउँदै यसलाई सफल बनाउन पदाधिकारीदेखि सबै नेता–कार्यकर्ताले एउटै तहमा जिम्मेवारी निर्वाह गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

महाधिवेशनको निर्णय सार्वजनिक भए लगत्तै धेरै नेता–कार्यकर्ताले फोन गरी ‘यति छोटो समयमा महाधिवेशन कसरी सम्भव हुन्छ ?’ भन्ने शङ्का व्यक्त गरेको प्रसङ्ग उठाउँदै उहाँले युद्धस्तरमा काम गर्ने प्रतिबद्धता लिई महाधिवेशन सजिलै सम्पन्न हुन सक्ने बताउनुभएको छ । ‘मैले कार्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔँ, बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेलले भिडियो वक्तव्यमार्फत भन्नुभएको छ, ‘तर यसलाई गम्भीरतापूर्वक नलिँदा डेढ महिना अनावश्यक रूपमा खेर गयो ।’

उहाँले बैठकमा कार्यतालिकासहित पुस महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने लिखित प्रस्ताव दर्ता गर्नुभएको थियो । त्यसपछि महामन्त्रीबाट पनि सोही अवधिमा महाधिवेशन गर्ने गरी प्रस्ताव आएको स्मरण गर्दै उहाँले त्यतिबेला निर्णय भएको भए अहिले समयको यति ठुलो चाप नपर्ने बताउनुभएको छ । नेता पौडेलका अनुसार तोकिएकै मितिमा महाधिवेशन सम्भव छ, तर त्यसका लागि सबैले युद्धको जस्तै अनुशासन र गतिमा काम गर्नुपर्नेछ । विशेषतः सदस्यता नवीकरण र वितरण नै प्रमुख पाटो भएकाले यसपालि व्यवस्थालाई अत्यन्त सरल बनाइएको उहाँको भनाइ छ । ‘अब सदस्यता नवीकरण गर्न चाहने कोही पनि वञ्चित हुनुहुने छैन, विधानले रोक्का गरेको बाहेक कसैको सदस्यता रोकिँदैन, वडा, जिल्ला, केन्द्र र डिजिटल ढङ्गबाट पनि नवीकरण हुने व्यवस्था मिलाइनेछ,’ उहाँले स्पष्ट पार्नुभयो, ‘अब चाहने नेपाली नागरिकले सदस्यता पाउने वातावरण बनेको छ ।’

उहाँका अनुसार पार्टीप्रति प्रतिबद्धता देखाएमा वडा, केन्द्र वा अनलाइनबाट६ सदस्यता उपलब्ध गराइनेछ । यसले कांग्रेसलाई अझ खुला, सहभागी र आधुनिक बनाउने उहाँको धारणा छ । साथै, विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशत हस्ताक्षरकर्ताको प्राथमिक माग समेत नियमित महाधिवेशन भएकाले यो निर्णयले उहाँहरूको माग पनि सम्बोधन हुने पौडेलले बताउनुभयो ।

महाधिवेशन सफलतापूर्वक सम्पन्न भए पार्टीमा एकता मजबुत हुने, नीतिगत स्पष्टता आउने र जेन–जी पुस्ताका मुद्दा समेटेर नयाँ धारणा ल्याउने अवसर बन्ने उहाँको विश्वास छ । ‘महाधिवेशनपछि पार्टीका सबै संरचना चलायमान हुनेछन्, आगामी निर्वाचनमा मत बढाउन सकिनेछ,’ पौडेलले भन्नुभयो ।

उहाँले सबै नेता–कार्यकर्तालाई सक्रियतापूर्वक लागेर महाधिवेशन सफल बनाउन आग्रह गर्दै महाधिवेशन नै कांग्रेसको हितमा रहेको उल्लेख गर्नुभयो ।