जनता टाइम्स

१७ मंसिर २०८२, बुधबार १७:१८

भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्छ : मन्त्री घिसिङ


काठमाडौँ, मंसिर १७। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताउनुभएको छ ।

उज्यालो नेपाल पार्टीको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताउनुभयो । ‘नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन, समृद्धिको आधार सुशासन हो, जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय उठाएको हो’, उहाँले भन्नुभयाे ।

सही पात्र सक्रिय राजनीतिमा आउनुपर्नेमा जोड दिँदै उहाँले सही पार्टी र नेतृत्व चुन्ने बेला आएको बताउनुभयो । राजनीतिमा जनविश्वास सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गर्नुभयो ।

उहाँले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पार्नुभयो । ‘आसन्न निर्वाचनले जेनजी परिवर्तनलाई संस्थागत गर्नेछ, अब पविर्तनको नेतृत्व नयाँ र विकल्प दिन सक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ’, मन्त्री घिसिङले भन्नुभयो, ‘यसका लागि आमजनसमुदायको भावनाअनुसार सबै वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छु।’

जस्तो सुकै परिस्थितिमा पनि एकताबद्ध भएर परिवर्तनलाई परिणाम दिने अवस्थामा लैजानुपर्ने उहाँकाे धारणा छ ।

कार्यक्रममा पूर्वमन्त्री सुमना श्रेष्ठले वैकल्पिक शक्ति एकताबद्ध हुन नसक्दा निर्वाचनमार्फत पूरानै राजनीतिक दलहरू हाबी हुनसक्ने औँल्याउँदै अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभयो ।

उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले देश र जनताले परिणाम दिनसक्ने नेतृत्व खोजिरहेको जनाउँदै क्षमतावान् व्यक्तित्वले राजनीतिमा हस्तक्षेप बढाउनुपर्ने बताउनुभयो ।

त्यसक्रममा मन्त्री घिसिङले सो पार्टीको आधिकारिक वेवसाइट शुभारम्भ गर्नुभएको थियो ।