रामेछाप, मंसिर १८ । उमाकुण्ड गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यस वर्ष कैलेश्वर माध्यमिक विद्यालय उमाकुण्ड–६, गुप्तेश्वरले जित्न सफल भएको छ। मंसिर १५ देखि १७ गतेसम्म तीन दिनसम्म सञ्चालन भएको विद्यालयस्तरीय प्रतियोगितामा सातवटा विद्यालयले प्रतिस्पर्धा गरेको थियो।
समग्रतामा उत्कृष्ट प्रदर्शन गर्दै कैलेश्वर माध्यमिक विद्यालयले ११ स्वर्ण, ८ रजत र ६ कांस्य गरी २५ पदक प्राप्त गर्यो। लगातार तीन वर्षसम्म समग्र च्याम्पियन बनेको चण्डेश्वरी माध्यमिक विद्यालय उमाकुण्ड–४, प्रीति यस पटक १० स्वर्ण, ८ रजत र १ कांस्यसहित १९ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो। श्री जनता माध्यमिक विद्यालय उमाकुण्ड–३, कुभुकास्थलीले ६ स्वर्ण, ३ रजत र ९ कांस्य गरी १८ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्यो।
प्रतियोगितामा श्री कास्थेम माध्यमिक विद्यालय उमाकुण्ड–७, भुजी २ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ९ पदकसहित चौथो भयो। सिद्धेश्वर माध्यमिक विद्यालय उमाकुण्ड–२, बाम्तीले १ स्वर्ण, ४ रजत र ९ कांस्य गरी १४ पदक प्राप्त गर्यो। त्यस्तै श्री सरस्वती माध्यमिक विद्यालय उमाकुण्ड–५, प्रीतिले २ रजत र २ कांस्य गरी ४ पदक प्राप्त गर्यो। श्री महालङ्गुर माध्यमिक विद्यालय उमाकुण्ड–१, गुम्देलले १ रजत र ४ कांस्य गरी ५ पदक प्राप्त गर्दै सातौँ स्थानमा रह्यो।
विजेता विद्यालयलाई २० हजार, दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेललगायतले विजयी खेलाडी तथा टोलीलाई पुरस्कार वितरण गरेका थिए।













प्रतिक्रिया दिनुहोस्