जनता टाइम्स

१८ मंसिर २०८२, बिहीबार १८:३२

फागुन २१ मा निर्वाचन सम्पन्न गरी युवालाई सत्ता सुम्पन चाहन्छौँ : सुशीला कार्की 


काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते गर्ने भनिएको आम निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकार पूर्ण तयारीमा जुटेको बताउनुभएको छ।

बिहीबार वसन्तपुरमा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले युवा पुस्ताका हातमा सत्ता हस्तान्तरण गर्दै मुलुकलाई तीव्र विकासतर्फ अघि बढाउनु सरकारको प्राथमिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। समारोहमा उहाँले भन्नुभयो, ‘आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो, तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यकासाथ सरकार सम्पूर्ण रूपमा तयारीमा जुटेको छ, यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा गर्दछु।’

उहाँले हालैको जेनजी आन्दोलनसँग जोडिएर उत्पन्न भएका घटनाबाट राज्यलाई गम्भीर पाठ मिलेको उल्लेख गर्दै युवा पुस्ताले उठाएका मागहरूप्रति संवेदनशील हुनु सबै जिम्मेवार निकायका लागि आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै घटेका घटनाबाट पाठ सिक्दै मुलुकका युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासनको पुनर्स्थापना र रोजगारीको माग गरेका छन्, ती चाहना पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न जरुरी छ।’

उहाँले काठमाडौं महानगरको सांस्कृतिक पहिचान, परम्परागत चाडपर्वको संरक्षण तथा प्रवर्द्धनमा गुठी संस्था र स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसको सुदृढीकरण आवश्यक रहेको धारणा राख्नुभयो।