जनता टाइम्स

२० मंसिर २०८२, शनिबार १९:३२

नेपाली कम्युनिष्ट पार्टी गठन- ऐतिहासिक आवश्यकता र जनभावनाको प्रतिबिम्ब : प्रचण्ड


जनकपुरधाम, मंसिर २० । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता संयोजनले राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक समीकरण निर्माण हुने संकेत दिएको बताउनुभएको छ।

शनिबार जनकपुरधाममा आयोजित एकता सन्देश सभामा सम्बोधन गर्दै प्रचण्डले नेकपा र मधेशवादी दलहरूको समर्थनमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनु परम्परागत राजनीतिक समीकरणको अन्त्य र नयाँ अध्यायको सुरुवात भएको टिप्पणी गर्नुभयो । मधेशी जनताले देशका हरेक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले आजको जनसमूहले नेकपा एकतालाई अनुमोदन गरेको धारणा राख्नुभयो। विभिन्न पार्टीमा विभाजित रहेका कम्युनिष्ट र समाजवादी धारा एक भएर ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गर्नु ऐतिहासिक आवश्यकता र जनभावनाको प्रतिबिम्ब भएको उहाँको भनाइ थियो।

देशका युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनु दुःखको विषय रहेको उल्लेख गर्दै प्रण्डले कृषि क्रान्ति बिना मधेश र समग्र राष्ट्रको समृद्धि सम्भव नहुने बताउनुभयो। युवालाई स्वदेशमै रोक्न र उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न अबको क्रान्ति कृषि क्षेत्रमै केन्द्रित हुनुपर्ने उहाँको अभिव्यक्ति थियो।

त्यसैगरी, सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा समाजवाद छिट्टै ‘डंका बजाएरै’ आउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पूँजीवादी वा साम्यवादी जस्तो कठोर अर्थतन्त्र मुलुकका लागि उपयुक्त नभएकाले समाजवादी मार्ग छनोट गरिएको हो।

व्याप्त भ्रष्टाचार र बेथितिका कारण देशभर फैलिएको जेनजी असन्तोषको उल्लेख गर्दै नेपालले मागहरू सम्बोधन नगरिए अर्को ठूलो विद्रोह हुन सक्ने चेतावनी दिनुभयो। जेनजी पुस्ताले नेकपालाई भरपर्दो विकल्पका रूपमा हेर्न थालेको उल्लेख गर्दै उहाँले युवा, ज्येष्ठ नागरिक तथा महिलासहित सबैलाई पार्टीप्रति विश्वास गर्न आग्रह गर्नुभयो।

एकता सभामा पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्र स्थापनाका लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभयो। उहाँका अनुसार २०६२/६३ को जनआन्दोलनले पूँजीवादी लोकतन्त्र स्थापना गरे पनि गरिब तथा सीमान्तकृत समुदाय झनै उपेक्षित हुँदै गएको छ। यस्तो विषमता अन्त्य गर्न नेकपा अग्रपंक्तिमा रहेको उहाँले दाबी गर्नुभयो।