भक्तपुर, मंसिर २३ । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि दोलखा जिल्लाबाट चयन भएका प्रतिनिधिहरूको अन्तर्संवाद कार्यक्रम मंगलबार भक्तपुरमा सम्पन्न भएको छ।
दोलखा भूगोल र दोलखा ठेगाना भई पार्टीका विभिन्न कमिटी तथा जनसंगठनमा क्रियाशील नेताहरू सहभागी भएको उक्त कार्यक्रममा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो।
एमालेको केन्द्रीय, प्रदेश, जिल्ला तथा प्रवास कमिटीमा कार्यरत दोलखा मूलका कुल ४३ जना प्रतिनिधि यस पटक ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुँदै छन्। सहभागीहरूले महाधिवेशनमा दोलखा जिल्लाको उपस्थिति, संगठनात्मक भूमिका र भावी कार्यदिशाबारे आ–आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज पार्वत गुरुङ, पोलिटब्युरो सदस्य आनन्द पोखरेल लगायतका केन्द्र, प्रदेश, जिल्ला तथा जनसंगठनका नेताहरूको सहभागिता थियो ।

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेबाट काठमाडौंमा सुरु हुँदै छ। उद्घाटन सत्रमा दोलखाबाट उल्लेख्य सहभागिता जुटाउनुपर्ने विषयमा अन्तर्संवाद कार्यक्रममा विशेष चर्चा गरिएको थियो।
प्रतिनिधि बिच आपसी समन्वय, जिम्मेवारी बाँडफाँड तथा सहभागिता सुनिश्चिततामाथि केन्द्रित भेलामा महाधिवेशनलाई सफल बनाउन एकमत भएर अघि बढ्ने सहमति भएको छ । दोलखा एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउन एक ठाउँमा उभिने संस्थागत निर्णय गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्