जनता टाइम्स

२४ मंसिर २०८२, बुधबार १९:२३

एमालेको पदाधिकारीमा आनन्द पोखरेलको दाबी, सधैँ केपीओलीको पक्षमा उभिने


काठमाडौं, मंसिर २४। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज आनन्द प्रसाद पोखरेल आगामी महाधिवेशनमा पदाधिकारीको दाबी गर्नु भएकाे छ ।

करिब पाँच दशकदेखि कम्युनिष्ट आन्दोलन, संगठन निर्माण, सिद्धान्त, वाककला र निडर राजनीतिक शैलीका कारण चिनिँदै आउनु भएका पोखरेलले यस पटक एमालेको पदाधिकारीमा समावेश गरिने अपेक्षा राख्नु भएकाे छ । ‘ पार्टीकाे राजनीतिमा सधैँ केपीओलीको पक्षमा उभिएँ, यसपटक केपी शर्मा ओलीले पदाधिकारी बनाएर न्याय गर्नुहुन्छ भन्ने विश्वास छ’, उहाँले भन्नुभयाे ।

पोखरेल एमालेभित्र वैचारिक दृढता, संगठन निर्माण र योजनामा दक्ष नेताका रूपमा परिचित हुनुहुन्छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहनुभएका तार्किक बहसका लागि चर्चित मानिनुहुन्छ । उहाँले ‘गन्तव्य समाजवाद’ र ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ जस्ता पुस्तकमार्फत पार्टीको वैचारिक एवं सांगठनिक दिशाबारे महत्त्वपूर्ण हस्तक्षेप गर्नुभएको छ । जलवायु, प्राकृतिक स्रोत व्यवस्थापन र विकास नीतिसम्बन्धी उहाँका लेख तथा विचार निरन्तर प्रकाशित हुँदै आएका छन् ।

दोलखाको तामाकोशी गाउँपालिका–३ जफेमा २०१६ फागुन २९ गते जन्मिनुभएका पोखरेल बिएससी एजी, बिएल र ग्रामिण विकास तथा राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । हाल बुद्ध दर्शनको विषयमा एमफिल–पीएचडीको तयारीमा हुनुहुन्छ ।

कक्षा ७ मा अध्ययनरत बेला, २०२९ सालमा अनेरास्ववियुको सदस्यता लिँदै उहाँको राजनीतिक यात्रा सुरु भएको हो । २०३२ मा अखिल नेपाल कोअर्डिनेशन सेन्टर यूथ लिगमा संलग्न हुँदै पोखरेल निरन्तर राजनैतिक गतिविधिमा सक्रिय रहनुभयो । २०३५ सालमा नेकपा माले गठनसँगै उहाँ विद्यार्थी, युवा र शिक्षकको मोर्चाबाट नेतृत्व सम्हाल्दै आन्दोलनमा उत्रिनुभयो । अनेरास्ववियुको चितवन जिल्ला अध्यक्ष, नारायणी अञ्चल सचिवदेखि सातौँ राष्ट्रिय अधिवेशन आयोजक समिति सदस्यसम्मको जिम्मेवारी उहाँले वहन गर्नुभएकाे थियाे।

२०४३ देखि २०४६ सम्म नेकपा माले जिल्ला संगठन समिति सदस्य रहँदा पोखरेलले १३ पटक जुठा मुद्दा खेप्दै जेल र हिरासत भोग्नुपरेको अनुभव उहाँसँग छ । कठोर दमनकै बीच विचार र सङ्गठनप्रति उहाँको प्रतिबद्धता झनै बलियो बन्दै गएको समर्थकहरूले बताउँछन् ।

२०५४–२०५९ मा एमाले दोलखा सचिव, २०६०–२०७० मा वाग्मती अञ्चल संगठन सदस्य, २०७५ मा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सचिव, २०७७ मा वाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष हुँदै २०७८ देखि पोलिटब्युरो सदस्यका रूपमा उहाँ पार्टीको रणनीतिक तहमा सक्रिय हुनुहुन्छ । हाल उहाँ एमालेको काठमाडौँ जिल्ला इन्चार्ज हुनुहुन्छ ।

एमालेको करिब ७ लाख सदस्य सूचीमा पोखरेल ३ सय ६३ नम्बरमा रहेका वरिष्ठ नेता हुनुहुन्छ। उमेर, योगदान र वैचारिक पक्षबाट अग्रपङ्क्तिमा रहेका कारण यस पटक पदाधिकारी बनाउएर नेतृत्वले न्याय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

पञ्चायत व्यवस्थाको सीमित संरचना उपयोग गर्दै २०४३–२०४५ मा दोलखा जफे गाउँपञ्चायतमा जनपक्षीय प्रधानमञ्चका रूपमा उहाँ निर्वाचित हुनुभयो । बहुदल आएपछि २०५६–२०५९ प्रतिनिधि सभा सदस्य, २०६३–२०६४ पुनःस्थापित संसद सदस्य र २०७० मा संविधानसभा सदस्य बन्नु हुँदै संविधान निर्माणमा उहाँको उल्लेखनीय भूमिका रहेकाे थियाे।

२०७२ सालमा संविधान जारी भएपछि बनेको पहिलो सरकारले उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मा दियो । उहाँको कार्यकालमा काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदाको पुनर्निर्माण, भिजिट नेपाल २०२० को आधार निर्माण, बुद्ध सर्किट विकास, पछिल्लो तामाकोशी क्षेत्रलाई धार्मिक तथा पर्यटन केन्द्र बनाउने योजना, हवाई सुरक्षा सुधार र विमानस्थल व्यवस्थापन जस्ता नीति–कार्यक्रम अघि बढेका थिए ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रोकावटमा परेपछि ‘दायाँ–बायाँ गरिए संसदमै आत्मदाह’ गर्ने चेतावनी दिँदै उहाँले परियोजना अघि बढाउन निर्णायक दबाब सिर्जना गर्नुभएको कुरा दोलखावासीले अझै स्मरण गर्छन् ।

संगठन निर्माण र वैचारिक विकासका लागि पोखरेलले लेखनलाई प्रभावकारी माध्यम बनाइरहेका छन् । ‘प्राकृतिक सम्पदा’ मासिक पत्रिकाका सम्पादकका रूपमा जलवायु न्याय र वातावरणमा सक्रियता देखाउँदै उहाँ अन्तर्राष्ट्रिय सेमिनारहरूमा नियमित कार्यपत्र प्रस्तुत गर्दै आउनुभएको छ । ४६ देश भ्रमण गरी अनुभव संकलन गरेका पोखरेल अन्तर्राष्ट्रिय जलवायु नेटवर्क, जन–सार्क निर्माण तथा ग्लोबल पार्लियामेन्ट फोरम फर इभ्यालुएसनका संस्थापक एवं स्टेरिङ कमिटी सदस्यको भूमिकामा समेत सक्रिय हुनुहुन्छ ।