भक्तपुर, मंसिर २६ । नेकपा (एमाले) रामेछापले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूलाई तोकिएको स्थान र समयमा उपस्थित हुन अनुरोध गरेको छ ।
एमाले रामेछापले जारी गरेको सूचनाअनुसार रामेछाप जिल्लाबाट सहभागी हुने सबै नेता तथा कार्यकर्ताहरू भक्तपुरको ठिमीस्थित एसएस चोकमा बिहान ११ बजे अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । सोही स्थानबाट महाधिवेशन उद्घाटन समारोहका लागि जुलुससहित सहभागिता जनाइने पार्टी अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिनुभयाे ।
एमाले रामेछापका अनुसार जुलुसलाई व्यवस्थित र आकर्षक बनाउन विशेष तयारी गरिएको छ । जुलुस व्यवस्थापनअन्तर्गत सबैभन्दा अगाडि माइकिङ गाडी रहनेछ भने गाडीको पछाडि प्रचार टोली रहने व्यवस्था मिलाइएको छ । जुलुसमा ब्यानर, पञ्चेबाजा, डम्फु तथा तामाङ सेलो रहने छ ।
त्यस पछि जुलुसमा लिखुतामाकोशी गाउँपालिकाको सहभागिता हुने छ । त्योसँगै माझी समुदायको झाँकी, सुनुवार समुदायको झाँकी तथा मन्थली नगरपालिकाको सहभागिता रहने जानकारी दिइएको छ । साथै सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाबाट समेत नेता तथा कार्यकर्ताहरूको संगठित सहभागिता रहने एमाले रामेछापले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्