जनता टाइम्स

२७ मंसिर २०८२, शनिबार २०:१७

मुलुकमा देखिएको बहुआयामिक सङ्कट समाधानका लागि कम्युनिष्ट शक्तिहरूबिचको एकताको विकल्प छैन : देवप्रसाद गुरुङ


काठमाडौं, मंसिर २७ । नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले मुलुकमा देखिएको बहुआयामिक सङ्कटको समाधानका लागि कम्युनिष्ट शक्तिहरूबिचको एकताको विकल्प नरहेको बताउनुभएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र र सामाजिक–आर्थिक रूपान्तरण गम्भीर चुनौतीको घेरामा परेको उल्लेख गर्नुभयो। ती सङ्कटबाट मुलुकलाई निकास दिन कम्युनिष्टहरूबीच बृहत्तर एकता र लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूबिच सहकार्य अनिवार्य भइसकेको उहाँको भनाइ थियो।

नेता गुरुङले मुलुकको राष्ट्रियता सबैभन्दा बढी संकटमा परेको उल्लेख गर्दै त्यसको रक्षा र सुदृढीकरणका लागि कम्युनिष्ट शक्तिहरूबिचको एकीकरण अपरिहार्य सर्त बनेको जिकिर गर्नुभयो। उहाँका अनुसार कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा रहँदा राष्ट्रिय स्वाधीनता र जनताको हितको रक्षा कमजोर बन्ने खतरा बढ्दो छ।

उहाँले नेपाली कम्युनिष्ट पार्टीले समाजवादको आधार निर्माण गर्ने लक्ष्यसहित सबै कम्युनिष्ट शक्तिहरूसँग एकताको अभियान अघि बढाइरहेको जानकारी दिँदै नेकपा (एमाले)को महाधिवेशनले पनि सोही प्रस्तावलाई पारित गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। ‘फेरि पनि कम्युनिष्टहरूको एकताको विकल्प छैन, वामपन्थीहरूको एकताको विकल्प छैन,’ नेता गुरुङले भन्नुभयो, ‘कम्युनिष्ट र वामपन्थी शक्तिहरूबिचको एकतासँगै सबै लोकतान्त्रिक, देशभक्त र राष्ट्रवादी शक्तिहरूसँग सहकार्य गर्दै लोकतन्त्रको रक्षा, राष्ट्रियताको रक्षा र आर्थिक–सामाजिक रूपान्तरण अघि बढाउनुको विकल्प छैन।’

उहाँले कम्युनिष्ट शक्तिहरूबिच सहकार्य र एकीकरण नै मुलुकको सङ्कट समाधानको आधार भएको उल्लेख गर्दै विगतमा भएको नेकपा एकीकरणको अनुभवलाई आत्मसात् गर्दै पुनः एकताको अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। मार्क्सवाद–लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा स्वीकार गर्दै समाजवादी क्रान्तिको लक्ष्यसहित तत्कालीन न्यूनतम कार्यक्रम तय गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

नेता गुरुङले उपलब्ध राजनीतिक उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि कम्युनिष्ट शक्तिहरू पुनः एकीकृत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। ‘त्यसो गर्न सके मात्रै मुलुकको सङ्कट र समस्याको सम्बोधन सम्भव हुन्छ,’ उहाँले भन्नुभयो।

महाधिवेशनबाट भावी कम्युनिष्ट पार्टी एकीकरणका लागि महत्त्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गर्दै उहाँले सबै कम्युनिष्ट शक्तिहरूलाई साझा उद्देश्यका लागि एकजुट हुन आह्वान गर्नुभयो।