जनता टाइम्स

२७ मंसिर २०८२, शनिबार २०:४७

यो अवैध सरकारलाई हाम्रो समर्थन छैन, हुँदैन : विप्लव


काठमाडौं, मंसिर २७ । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको सरकार अवैधानिक भएकाले आफ्नो दलको समर्थन नरहने बताउनुभएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा (एमाले)को ११ औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दलविना मुलुकको समृद्धि सम्भव नहुने बताउँदै नेपाललाई कसैको अधीनमा लैजान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वर्तमान सरकारलाई अवैध ठहर गर्दै भन्नुभयो, ‘यो अवैध सरकारलाई हाम्रो समर्थन छैन, हुँदैन।’

महासचिव विप्लवले मुलुक गम्भीर र जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको निकासका लागि सर्वपक्षीय सरकार गठन आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँका अनुसार राजनीतिक दल, नेता र संरचना हुँदाहुँदै पनि राज्यको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको अवस्था छ। ‘देश जटिल परिस्थितिमा छ, दल छन्, देश छ, नेताहरू पनि छन्, तर आज राज्य कहाँ छ ? राज्य छ कि छैन भन्ने प्रश्न उब्जिएको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो परिस्थितिमा एमालेको महाधिवेशन हुन लागेको छ, एमालेमाथि थुप्रै प्रश्न छन्, सायद त्यसको जवाफ दिनकै लागि यो कार्यक्रम गरिएको हुन सक्छ।’

महासचिव विप्लवले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्न राजनीतिक दलहरूबिच गम्भीर समीक्षा, संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।