जनता टाइम्स

१४ मंसिर २०७६, शनिबार ११:५४

उपनिर्वाचन अपडेट : बिहान साढे ११ बजेसम्म २७ प्रतिशत मतदान, कञ्चनपुरमा खानेपानी मन्त्री मगरको मतदान


काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि भैरहेको उपचुनावका क्रममा खानेपानी तथा सरसफाइ मन्त्री वीना मगरले मतदान गर्नुभएको छ ।

मन्त्री मगरले शनिबार कञ्चनपुरको गोरखा आधारभूत विद्यालयमा पुगेर मतदान गर्नुभएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि चुनाव भैरहेको छ ।
बिहान साढे ११ बजेसम्म २७ प्रतिशत मतदान
आज विहानै ७ बजेदेखि सुरू भएको मतदानमा बिहान ११ बजेसम्म २७ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । देशभर निर्वाध मतदान भइरहेको आयोगले जनाएको छ । र, मतदान साँझ पाँच बजेसम्म रहनेछ । मतदाता परिचयपत्र नभएमा नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्रले पनि भोट हाल्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । यसका लागि मतदाताको सूचीमा नाम भने भएको हुनुपर्नेछ ।

कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन हुँदैछ । त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन जारी छ । विभिन्न स्थानीय तहका गरी ४३ वडाध्यक्षको पनि आजै उपचुनाव हुँदैछ ।
कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै भक्तपुर, बाल्गुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ । यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनाले मताधिकार प्रयोग गर्नेछन् ।