जनता टाइम्स

४ माघ २०८२, आईतवार ०८:१९

एमालेले उम्मेदवार टुंग्यायो, अधिकांश क्षेत्रमा नाम सार्वजनिक


काठमाडौँ,  माघ  ४। नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेक उम्मेदवारको नाम टुंग्याएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

भट्टका अनुसार बाँकी रहेका क्षेत्रको उम्मेदवार टुंग्याउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार पर्सि मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयसमेत गरेको छ। अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्नुहुने भएको छ।

एमालेले देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार सार्वजनिक गरेसँगै चुनावी तयारीलाई तीव्र बनाएको छ।