जनता टाइम्स

४ माघ २०८२, आईतवार ०९:२२

काठमाडौंमा आज एमालेको निर्वाचन केन्द्रित जनप्रदर्शन र जनसभा, पार्टी अध्यक्ष केपी ओलीले सम्बाेधन गर्ने


काठमाडौं, माघ ४। नेकपा (एमाले) ले आज काठमाडौंमा निर्वाचन केन्द्रित जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा दिउँसो काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शन हुने भएको हो ।

प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलका अनुसार भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ । मध्यान्ह १२ बजेदेखि सुरु हुने प्रदर्शन तथा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले अधिकांश निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार टुङ्ग्याइसकेको सन्दर्भमा बागमती प्रदेश कमिटीले आसन्न निर्वाचनलाई लक्षित गर्दै विशेष चुनावी अभियानको थालनी गर्न लागेको जनाएको छ ।

जनप्रदर्शन तथा जनसभामार्फत पार्टीले संगठन सुदृढीकरण, चुनावी एजेन्डा र आगामी निर्वाचनका रणनीतिबारे कार्यकर्तालाई स्पष्ट सन्देश दिने तयारी गरेको नेताहरूको भनाइ छ ।