काठमाडौं, माघ ९ । मनोनयन दर्ता सकिएसँगै उम्मेदवारहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारमा व्यस्त भएका छन्। कतिपय पहिलोपटक मतदातामाझ पुग्दैछन् भने केही नेता वर्षौँपछि गाउँबस्तीमा देखापरेका छन्। नेता–कार्यकर्ता भोट माग्दै गाउँ पस्न थालेपछि चुनावी माहोल तातेको छ। यसक्रममा केही उम्मेदवारको प्रचार शैली भने निकै रोचक र चटके देखिएको छ।
अघिल्ला निर्वाचनहरूमा कतिपय उम्मेदवार खेतबारीमै पुगेर धान काट्ने, मकै गोड्ने जस्ता काम गर्दै मतदातासँग नजिकिने प्रयासमा देखिन्थे। कसैले गोठमै पुगेर गाईभैंसी दुहने र गोबर सोहोर्ने दृश्यसमेत देखाएका थिए। तर यसपटक खेतीपातीको सिजन नभएकाले यस्ता दृश्य दोहोरिएका छैनन्। यसको सट्टा उम्मेदवारहरू सडक र सामाजिक सञ्जालमार्फत अझ चटके र अनौठा शैलीमा देखिन थालेका छन्।
चुनावी प्रचारको यही चटके शैलीमा पूर्वपत्रकारसमेत रहेका आम जनता पार्टीका उम्मेदवार ऋषि धमला सबैभन्दा अगाडि देखिएका छन्। रौतहट–४ बाट उम्मेदवारी दिएका धमलाले पत्रकारिता गर्दाकै जस्तो चटपटे शैली मिसाएर प्रचार गरिरहेका छन्। कहिले स्थानीय होटलमा जुलेबी बनाउन खोज्दै देखिन्छन् भने कहिले काठ मिलमा पुगेर सिकर्मी बन्ने प्रयास गरिरहेका हुन्छन्। एक भिडियोमा उनी हाते आरोले काठ चिर्न खोज्दा आरो बाँगो लागेपछि असिनपसिन हुँदै उठ्छन्। त्यहीँ उपस्थित एक युवकले टिप्पणी गर्छन्, ‘नेता हुनु जस्तो सजिलो कहाँ छ र, काम गर्न त गाह्रो छ दाइ।’ धमलाले साइकल चढेको फोटो सामाजिक सञ्जालमा राखेपछि एक प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका छन्, ‘योपालि उहाँलाई दशैंमा मामाघर गएजस्तो रमाइलो भएको छ।’
धमलाको यो चटके शैलीलाई नुवाकोटका अर्का उम्मेदवार अच्युतम लामिछानेले पनि पछ्याएका छन्। नुवाकोट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका लामिछाने गलामा फूलको माला र पछाडि राष्ट्रिय झण्डा ओढेर भोट माग्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सडक छेउमा मानिस देख्नेबित्तिकै उनी परैबाट हात जोड्दै ‘नझुक्किनुहोला, छोरो आयो, नाति आयो’ भन्दै लम्पसार परेर ढोग्छन्। प्रत्यक्ष देख्नेहरू अचम्मित भएका छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘नयाँ जोगी’को संज्ञा दिएका छन्। कतिपयले भने व्यंग्य गर्दै प्रतिक्रिया दिएका छन्—‘पहिले खुट्टा ढोगेर भोट मागिन्छ, जितेपछि ढोगेको खुट्टा कसको हो भनेर पनि चिन्दैनन्।’
यसैबीच, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनको प्रचार शैली भने बिल्कुलै फरक देखिएको छ। उनले फेसबुकमार्फत आफू पुग्ने स्थानको जानकारी दिन्छन् र किताब बोकेर त्यहाँ पुग्छन्। मानिस जम्मा भएपछि उनी भन्छन्, ‘भोट दिन मन लागे दिनुस्, मन नलागे नदिनुस्, तर मेरो किताब चाहिँ किनिदिनुस्।’ पहिले किताब बेच्दाबेच्दै मन्त्री बनाइदिएको भन्दै ठट्यौली टिप्पणी सुन्दै आएका पुनले यसपटक पनि त्यस्तै शैलीमा मतदाताको ध्यान खिचिरहेका छन्।
अन्य नेताहरूको प्रचार शैली पनि आ–आफ्नै खालको देखिएको छ। सुरक्षित क्षेत्रको खोजीमा रुकुम पूर्व पुगेका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दर्ताका दिन मयूर नाच नाचे। यसअघि प्रचण्डसँग अलग भएर पार्टी खोलेका जनार्दन शर्मा पनि रुकुम पुग्दा यस्तै नाचमा देखिएका थिए। मतदाता आकर्षित गर्न त्यही शैली उपयोगी ठानेर प्रचण्डले पनि मयूर नाच दोहोर्याएको विश्लेषण गरिएको छ।
चुनावी प्रचारको सुरुआत मात्र भएकाले आगामी दिनमा उम्मेदवारहरूका यस्ता नाचगान, ढोगभेट र चटके शैली अझ धेरै देखिन बाँकी नै छ।













प्रतिक्रिया दिनुहोस्