काठमाडौं, फागनु ७ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको बचत रकम ठगी प्रकरणमा संलग्न रहनुभएको दाबी गर्दै अदालती कागजातसहित प्रमाण सार्वजनिक गर्नुभएको छ।
बिहीबार काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले विभिन्न पाँच जिल्लाका सहकारी संस्थाबाट बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना भएको प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेको संलग्नता पुष्टि हुने आधारहरू प्रस्तुत गर्नुभएको हो।
प्रश्नोत्तरका क्रममा लामिछानेको संलग्नताबारे प्रश्न उठेपछि उहाँले भन्नुभयो, “साथीहरूले प्रमाण माग्नुभएको थियो, म आज प्रमाणसहित उपस्थित भएको छु। यो मैले बनाएको आरोप होइन, सम्मानित **सर्वोच्च अदालत**को डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरूमा आधारित विषय हो।”
उहाँका अनुसार चितवन र रुपन्देही जिल्ला अदालतमा पेश भएका मिसिलले सहकारीका सदस्य नै नरहनुभएका लामिछानेको नाममा करोडौँ रुपैयाँ ऋण प्रवाह भएको देखाएको छ। जिल्ला अदालत चितवनको अभिलेखअनुसार सहारा सहकारी संस्थाबाट ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको विवरण भेटिएको उहाँले उल्लेख गर्नुभयो।
सभापति थापाले गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहँदा लामिछानेले सहकारीबाट आएको रकम चेकमार्फत खर्च गर्नुभएको कागजातसमेत सार्वजनिक गर्नुभयो। उहाँका अनुसार लामिछानेको हस्ताक्षर रहेका ४१४ वटा चेक अभिलेखमा भेटिएको छ।
त्यस्तै, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाबाट पनि बिनाधितो २ करोड रुपैयाँ व्यक्तिगत नाममा ऋण लिएको तथ्य फेला परेको उहाँले जानकारी दिनुभयो।
सभापति थापाले उक्त प्रकरणसम्बन्धी विवरण सर्वोच्च अदालतको वेबसाइटमा समेत उपलब्ध रहेको उल्लेख गर्दै इच्छुक जो–कोहीले सम्बन्धित फैसला र कागजात अध्ययन गर्न सक्ने बताउनुभयो। उहाँले यी सबै तथ्य अदालतदेखि संसदीय छानबिन समितिसम्म पुगेको स्पष्ट पार्नुभयो।














प्रतिक्रिया दिनुहोस्