रामेछाप, फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले चुनावी प्रचार अभियानलाई तिव्र बनाएको छ।

पार्टीले मतदातासँग भेटघाट, घरदैलो तथा कोणसभा लगायतका कार्यक्रममार्फत आफ्ना धारणा मतदातामाझ पुर्याउने र जनताका गुनासा तथा सुझाव सुन्ने अभियान सञ्चालन गरिरहेको जनाएको छ। एमालेले आयोजना गरेका कोणसभाहरूमा स्थानीयको उल्लेख्य उपस्थितिका कारण कार्यक्रमहरू ठूला सभाजस्तै देखिन थालेका छन्।
यसैबीच बिहीबार पार्टीले लिखु तामाकोशी गाउँपालिकाको खिम्ती र तिल्पुङ तथा मन्थली नगरपालिकाको चिसापानी र पुरानागाउँमा कोणसभा आयोजना गरेको थियो।
चिसापानीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव ढुंगेलले यसअघि एमालेले सुरु गरेको विकास निर्माणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताको दुःख–सुखमा निरन्तर साथ दिने बचन दिँदै उहाँले इमान्दारपूर्वक जनताको प्रतिनिधिका रूपमा संसदमा प्रस्तुत हुने बताउनुभयो। ‘नागरिकको शिर ननिहुरिने गरी काम गर्नेछु,’ उहाँले भन्नुभयो।
समानुपातिक तर्फका उम्मेदवार राजकुमार श्रेष्ठले विकास निर्माणका अधिकांश काममा एमालेले नेतृत्व गरेको उल्लेख गर्दै पुनः नेतृत्वमा पुर्याउन मतदातालाई आग्रह गर्नुभयो।

वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले वर्तमान निर्वाचनलाई एमाले कमजोर पार्ने र जनमत विभाजित गर्ने प्रपञ्चका रूपमा व्याख्या गर्नुभयो। जनतामा एमालेप्रति बलियो विश्वास रहेको दाबी गर्दै उहाँले त्यस्ता प्रयासहरू असफल हुने बताउनुभयो। उहाँले अहिलेको राजनीतिक बहस ‘जलाउने र बनाउने’ शक्तिबीचको संघर्ष भएको उल्लेख गर्नुभयो। नयाँ शक्ति भन्दै उभिएका समूहहरूले विध्वंस मात्र गरेको आरोप लगाउँदै निर्माण र स्थायित्वका पक्षमा उभिने मतदाताले एमालेलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो। साथै, जेलबाट भागेर आएका व्यक्तिहरूले घण्टी बजाउँदै आफूलाई ठूलो शक्ति ठान्ने प्रवृत्तिप्रति पनि उहाँले टिप्पणी गर्नुभयो।
वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले एमाले नागरिकको दुःख–सुखको साथी भएको बताउनुभयो। विकास निर्माणका काममा सँधै नेतृत्व गरेकोले जस–अपजस सबै एमालेले लिने उल्लेख गर्दै उहाँले हरेक नेपालीलाई अप्ठेरो पर्दा एमाले साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा पार्टीका नेता शान्तिप्रसाद पौडेल, वाग्मती प्रदेश कमिटी सदस्यहरू आनन्द श्रेष्ठ, लब श्रेष्ठ, गोपाल श्रेष्ठ, हर्कमाया माझी, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, उपसचिव मखमली श्रेष्ठ, पालिका कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतका नेताहरू, जनसंगठनका प्रतिनिधि, वडा कमिटीका पदाधिकारी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।












प्रतिक्रिया दिनुहोस्