जनता टाइम्स

१० फाल्गुन २०८२, आईतवार २०:५८

प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापमा तयारी तीव्र, १३ सय ७४ कर्मचारी खटिने


रामेछाप, फागुन १० । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापमा तयारी तीव्र पारिएको छ। जिल्लामा निर्वाचन सामग्री व्यवस्थापनदेखि कर्मचारी प्रशिक्षण र मतदाता शिक्षा कार्यक्रमसम्मका कामलाई तीव्रता दिइएको हो।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद लामिछानेका अनुसार निर्वाचन आयोगबाट मतपत्र बाहेकका सबै निर्वाचन सामग्री जिल्ला आइपुगेका छन्। जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नुपर्ने आवश्यक सामग्रीको खरिद प्रक्रिया समेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो। मतपत्र भने भोलिसम्म आइपुग्ने निर्वाचन आयोगबाट जानकारी प्राप्त भएको उहाँले बताउनुभयो।

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि फागुन १२ गतेदेखि १४ गतेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। उहाँका अनुसार जिल्लाभर २ सय ३० जना मतदान अधिकृत र २ सय ३० जना सहायक मतदान अधिकृत खटिने छन्। त्यसैगरी ६ सय ८४ जना सहायक कर्मचारी तथा १ सय ३० जना सहयोगी कर्मचारी परिचालन गरिने छन्। यसरी निर्वाचनमा कुल १३ सय ७४ कर्मचारी खटिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

मत बदर नहोस् भन्ने उद्देश्यले जिल्लाका ६४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। मतदाता शिक्षाका लागि स्वयंसेविका तथा इसिडीका सहयोग कार्यकर्ताहरू परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मतदातालाई मतदान प्रक्रिया, मतपत्रमा मतदान गर्ने तरिका तथा मत बदर हुने अवस्थाबारे जानकारी गराउने कार्य भइरहेको छ।

निर्वाचनको निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित सञ्चालनका लागि आवश्यक समन्वय तथा सहकार्यका कामहरू पनि भइरहेको जिल्ला निर्वाचन अधिकारी लामिछानेले बताउनुभयो। सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायसँग नियमित छलफल र समन्वय जारी रहेको उहाँले जानकारी दिनुभयो।

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा यस पटक प्रतिनिधि सभा निर्वाचनमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये हालसम्म ११ जनाले बैङ्क खाता खोलेको जानकारी उहाँले दिनुभयो। निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारहरूले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ।

आइतबार जिल्ला निर्वाचन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी लामिछानेले समग्र तयारीबारे जानकारी गराउनुभएको हो। निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि पनि क्रमशः बढ्दै गएको छ।