दोलखा, फागुन ११। नेकपा एमाले दोलखाले ‘सदैव हाम्रो प्रण : दोलखाको आर्थिक रूपान्तरण’ नारासहित जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।
पार्टीले दोलखाको सुख–दुःखमा सधैँ साथ रहने प्रतिबद्धता जनाउँदै पूर्वाधार, ऊर्जा, शिक्षा, कृषि, पर्यटनदेखि सामाजिक सुरक्षासम्मका ११ वटा मुख्य क्षेत्र समेटेर कार्यक्रम अघि सारेको हो।
प्रतिवद्धतापत्रमा उत्तर–दक्षिण सडक कोरिडर सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाह निर्माण गर्ने, जिल्लाका रणनीतिक सडक कालोपत्रे गर्ने तथा तामाकोशी र सहायक नदीहरूमा ठूला जलविद्युत् आयोजना अघि बढाउने योजना समावेश छ। ७५० मेगावाट क्षमताको तामाकोशी तेस्रो जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने र १०० मेगावाट सोलार परियोजना जिल्लावासीको स्वामित्वमा विकास गर्ने उल्लेख गरिएको छ।
सडक तथा यातायाततर्फ चीन–भारत जोड्ने उत्तर–दक्षिण लोकमार्गको लामाबगर–फलाक खण्ड सम्पन्न गरी गोंगर–सिंगटी क्षेत्रमा सुख्खा बन्दरगाह स्थापना गर्ने, लामोसाँघु–जिरी सडक स्तरोन्नति गर्ने र काठमाडौं–जिरी सडकलाई ‘एभरेष्ट हाइवे’ का रूपमा विकास गर्ने योजना अघि सारिएको छ। चरिकोट र जिरी विमानस्थल सञ्चालनका लागि पहल गर्ने तथा भीमेश्वर नगरपालिकाको डाङडुङ्गे डाँडामा निर्माणाधीन फिल्म सिटी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
शिक्षातर्फ हिमालयन विश्वविद्यालयको परिकल्पना गर्दै विज्ञान तथा इन्जिनियरिङ कलेज स्थापना गर्ने, प्रत्येक पालिकामा कम्तीमा एक माध्यमिक विद्यालयमा विज्ञान विषय सञ्चालन गर्ने र आवासीय विद्यालय विस्तार गर्ने योजना उल्लेख छ। गरिब तथा जेहेन्दार विद्यार्थीका लागि प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कोष स्थापना गरिने जनाइएको छ।
कृषि क्षेत्रमा दोलखालाई किवी, चिज र आलुको ‘सुपर जोन’ घोषणा गर्ने, ‘माटो सुधार कार्यक्रम’ लागू गर्ने तथा बाँदर लगायत जङ्गली जनावर नियन्त्रणका लागि कानुनी प्रबन्ध गर्ने उल्लेख छ। उद्योगतर्फ खरिढुङ्गा म्याग्नेसाइट खानी सञ्चालन, ‘एक पालिका–एक औद्योगिक ग्राम’ र ‘एक वडा–५० उद्यम’ कार्यक्रम लागू गर्ने योजना अघि सारिएको छ।
पर्यटन विकासअन्तर्गत भीमेश्वर, कालिञ्चोक, लप्ची, रोल्वालिङ र सैलुङलाई एकीकृत प्याकेजसहित अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने, तामाकोशी नदीमा र्याफ्टिङ तथा बन्जी सञ्चालन गर्ने र जिरी ताल निर्माण गर्ने कार्यक्रम समेटिएको छ। कालिञ्चोक, रोल्वालिङ भ्याली र सैलुङ क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।
स्वास्थ्यतर्फ चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल लाई २०० शैय्याको बनाउने, प्रत्येक पालिकामा १५ शैय्याको अस्पताल सञ्चालन सुनिश्चित गर्ने तथा स्वास्थ्य बीमा प्रभावकारी बनाउने उल्लेख छ।
सामाजिक सुरक्षाअन्तर्गत भ्रष्टाचार र लैङ्गिक हिंसामा शून्य सहनशीलता नीति अपनाउने, सार्वजनिक सेवा ‘लाइन होइन, अनलाइन’ बनाउने तथा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने कार्यक्रम समेटिएको छ। अल्पसङ्ख्यक तथा लोपोन्मुख समुदाय जिरेल, सुरेल र थामीको भाषा, संस्कृति संरक्षण र आर्थिक सशक्तीकरणका लागि विशेष प्याकेज ल्याउने पनि जनाइएको छ।
एमाले दोलखाले आफू योजनाको परिकल्पनाकार मात्र नभई कार्यान्वयन गर्न सक्षम र प्रतिबद्ध पार्टी भएको दाबी गर्दै आगामी निर्वाचनमा जनसमर्थनमार्फत प्रतिवद्धता कार्यान्वयन गर्ने बताएको छ।














प्रतिक्रिया दिनुहोस्