झापा, फागुन ११। झापा–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साहले संविधान कार्यान्वयन, भ्रष्टाचारविरुद्ध अडान र शिक्षा–स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी वाचा सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिनुभएका साहले संघीय संसदमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका दायित्व निष्ठापूर्वक पूरा गर्ने तथा नागरिकमैत्री कानुन निर्माण, संशोधन र परिमार्जनमा पहल गर्ने बताउनुभएको छ। ‘बेथिति र भ्रष्टाचारविरुद्ध संसद्को अग्रपंक्तिमा उभिनेछु,’ उहाँको वाचा छ।
साहले राष्ट्रिय नीति तथा बजेट निर्माणमा झापा–५ का विकास मुद्दा सशक्त रूपमा उठाउने, संघ–प्रदेश–स्थानीय तहबिच समन्वय गरी विकास योजनाको प्रभावकारी अनुगमन गर्ने र स्थानीय जनताको आवाज निरन्तर संसदमा प्रस्तुत गर्ने उल्लेख गर्नुभएको छ। साथै, सार्वजनिक सेवा चुस्त–दुरुस्त बनाउने र राष्ट्र हित विपरीत कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभएको छ।
शिक्षा सुधारलाई प्राथमिक एजेन्डा बनाउँदै साहले गरिब तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने बताउनुभएको छ। काठमाडौं महानगरमा लागू भएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा विस्तार गरी विद्यार्थी बिदेसिने बाध्यता कम गर्ने योजना अघि सारिएको छ।
गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन–अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गर्ने, दमक बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तथा सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
‘स्कुले रिटेन्सन प्रोग्राम’ मार्फत विद्यालय छाड्ने दर शून्यमा झार्ने, फरक क्षमता भएका बालबालिकाका लागि विशेष शैक्षिक कार्यक्रम लागू गर्ने र स्थानीय भाषा–लिपिलाई प्रारम्भिक तहदेखि पाठ्यक्रममा समावेश गर्ने योजना पनि वाचा पत्रमा समेटिएको छ। दमक–१० स्थित साइन्स पार्कलाई व्यवस्थित गरी सञ्चालनमा ल्याइने जनाइएको छ।
साहले ‘कोसी आयुर्वेद प्रतिष्ठान’ स्थापना गरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन गर्ने र स्वास्थ्य सेवा प्रभावकारी बनाउने उल्लेख गर्नुभएको छ। आधारभूत आवश्यकता-गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी र सामाजिक सुरक्षा सबै नागरिकसम्म व्यवहारिक रूपमा पुर्याउन कानुनी र बजेटीय पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ।
झापा–५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकार प्रत्यक्ष सम्बोधन गर्ने, राजनीतिलाई पेसा होइन सेवा बनाउने र मतदाताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने साहको भनाइ छ।
रास्वपाको ‘थिति बसाल्ने सङ्कल्प’ कार्यान्वयनमा नेतृत्व गर्ने दाबी गर्दै साहले पाँच वर्षभित्र समन्वित रूपमा प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्