जनता टाइम्स

११ फाल्गुन २०८२, सोमबार २१:३६

सप्तरीमा एमालेको झण्डा जलाउने पक्राउ


काठमाडौं, फागुन ११  । ​ सप्तरीको महादेवा गाउँपालिकामा राजनीतिक दलको झण्डा र ब्यानर जलाएको तथा सामाजिक सञ्जालमार्फत अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका वडा नं। ५, भगवतपुर निवासी ३१ वर्षीय हरि नारायण मण्डल रहेका छन्।

​जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, मण्डलले नेकपा एमाले पार्टीको ब्यानर, फोटो तथा सूर्य अंकित झण्डा जलाउँदै गरेको र उत्तेजित रूपमा अश्लील भाषा प्रयोग गरी विभिन्न आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही भिडियोको आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले उनलाई यही फागुन ८ गते बेलुका महादेवा गाउँपालिका वडा नं।३ बाट नियन्त्रणमा लिएको हो।

​प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा मण्डलले भिडियोमा बोलेको र झण्डा जलाएको स्वीकार गरेपछि उनलाई हिरासतमा लिइएको हो। घटना गत फागुन ६ गते राति ९ बजेतिर भगवतपुरमा घटेको प्रहरीले जनाएको छ।

​हाल पक्राउ परेका मण्डलमाथि ‘सार्वजनिक शान्ति विरुद्धको कसूर’मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।