रामेछाप, फागुन १२। प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन रामेछापमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको प्रशिक्षण सुरु भएको छ। निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै कर्मचारीहरूलाई व्यवहारिक तथा कानुनी पक्षबारे स्पष्ट मार्गदर्शन दिन तालिम सञ्चालन गरिएको हो।
जिल्ला निर्वाचन कार्यालय रामेछापको आयोजनामा मन्थलीमा सुरु भएको उक्त तालिममा जिल्लाका ६४ वडाअन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रमा खटिने ४ सय ६० जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी हुनुहुने छ। तालिमलाई तीन समूहमा विभाजन गरी सञ्चालन गरिएको छ।
आजदेखि सुरु भएको पहिलो समूहको तालिममा उमाकुण्ड, गोकुलगंगा र खाँडादेवी गाउँपालिकामा खटिनुहुने कर्मचारीहरू सहभागी हुनुहुन्छ। अन्य पालिकामा खटिने कर्मचारीहरूका लागि भोलि र पर्सी तालिम सञ्चालन गरिने कार्यालयले जनाएको छ।
यस निर्वाचनमा २ सय ३० जना मतदान अधिकृत, २ सय ३० जना सहायक मतदान अधिकृत, ६ सय ८४ जना सहायक कर्मचारी तथा १ सय ३० जना सहयोगी कर्मचारी गरी कुल १ हजार ३ सय ७४ जना कर्मचारी परिचालन गरिने तयारी गरिएको छ। निर्वाचनलाई सफल र विश्वसनीय बनाउन आवश्यक जनशक्ति व्यवस्थापन सम्पन्न भइसकेको जनाइएको छ।
तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले निर्वाचनका क्रममा निष्पक्ष र जिम्मेवार भूमिका निर्वाह गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो। उहाँले कार्यविधि अनुसार पारदर्शी ढङ्गले काम गरिएमा कुनै समस्या नआउने स्पष्ट पार्नुभयो। उहाँले कर्मचारीहरूको व्यक्तिगत आचरण, व्यवहार र निर्णय क्षमताले नै मतदान प्रक्रियाको विश्वसनीयता निर्धारण गर्ने उल्लेख गर्दै लापरबाही वा पक्षपातका कारण मतदान प्रक्रियामा अवरोध आएमा त्यो क्षम्य नहुने चेतावनी दिनुभयो। निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै अधिकृत नेपालले मतदाताको विश्वास कायम राख्नु नै सबैभन्दा ठुलो दायित्व भएको बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पनि चुनावमा खटिने कर्मचारीलाई संयमपूर्वक काम गर्न आग्रह गर्नुभयो । उहाँले सबैले आआफ्नो दायित्व निर्वाह गरेर यो चुनाव सफल गराउनु पर्नेमा जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्