जनता टाइम्स

१५ फाल्गुन २०८२, शुक्रबार १७:१४

बुटवल र सैनामैनाबाट ३५० जना एमाले प्रवेश, उपाध्यक्ष पौडेलद्वारा स्वागत


काठमाडौं, फागुन १५ । रुपन्देहीको बुटवल र सैनामैना क्षेत्रबाट विभिन्न दल परित्याग गरी ३ सय ५० बढी कार्यकर्ता विभिन्न दल छाडि नेकपा (एमाले)मा प्रवेश गराउनुभएको छ ।

शुक्रबार बिहान बुटवल उपमहानगरपालिका वडा नं. १२ र १३ बाट तथा दिउँसो सैनामैना नगरपालिकाका विभिन्न वडाबाट आएका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार रास्वपा, नेकपासहित विभिन्न राजनीतिक दलमा आवद्ध रहेका कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन् ।

सैनामैना क्षेत्रबाट प्रवेश गर्ने करिब ३ सय जनाको संयोजन वडा नं. १ शाखा कमिटीका उपाध्यक्ष चक्र शाहीले गर्नुभएको थियो । उहाँले आफ्नो क्षेत्रमा रहेका विभिन्न दलप्रति आस्था राख्ने नागरिकहरूले एमालेप्रति भरोसा व्यक्त गर्दै प्रवेश गर्न चाहेकाले समन्वय गरी पार्टी कार्यालयमा ल्याइएको र एमाले उपाध्यक्ष विष्णु पौडेलले उहाँहरुलाई स्वागत गर्नु भएकाे बताउनुभयाे ।  ‘भूमिहीन तथा लालपूर्जा विहीन नागरिकको भरोसाको पार्टीका रूपमा एमाले स्थापित हुँदै गएको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ पुस्ताका युवाहरू, विशेषगरी जेन–जी पुस्ता पनि अब भ्रमबाट बाहिरिँदै एमालेप्रति आकर्षित भएका छन् । पार्टी नेतृत्वले उहाँहरूको भावना बुझेर उचित जिम्मेवारीसहित परिचालन गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’

पार्टी प्रवेश गराउँदै उपाध्यक्ष पौडेलले विभिन्न हल्ला र भ्रमका कारण केही समय एमालेको जिम्मेवारीमा नरहेका व्यक्तिहरू पुनः पार्टीमा फर्किनु सकारात्मक संकेत भएको बताउनुभयो । उहाँले अब सम्बन्धित क्षेत्रमा जनताको भरोसा जित्ने गरी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘मैले यहाँ उपस्थित जेन–जी उमेर समूहदेखि अनुभवसम्पन्न अग्रजसम्म सबैलाई देखेको छु,’ उहाँले भन्नुभयो, ‘यहाँहरू सबैले एमाले र मप्रति विश्वास गरेर आउनुभएको छ । हामी यहाँहरूको भावनाअनुसार अघि बढ्नेछौँ र पार्टीलाई अझ बलियो बनाउनेछौँ ।’

कार्यक्रममा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं. २ निर्वाचन परिचालन समितिका संयोजक भोजप्रसाद श्रेष्ठले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा पार्टीले आगामी कार्यक्रम तय गर्ने बताउनुभयो । उहाँले आफ्नो क्षेत्रका समस्या तथा आवश्यकताबारे प्रत्यक्ष रूपमा जानकारी गराउन सबैलाई आग्रह गर्नुभयो ।

यसैबीच, शुक्रबार नै बुटवल–१२ मा दर्जनौँ युवाहरू एमालेमा प्रवेश गरेको एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो । उहाँहरूलाई पनि उपाध्यक्ष पौडेलले पार्टीमा स्वागत गर्दै युवाहरूको योजना, सोच र ऊर्जाअनुसार पार्टी अघि बढ्ने विश्वास दिलाउनुभएको थियो ।

एमालेले पछिल्लो समय रुपन्देही जिल्लामा संगठन विस्तारलाई तीव्रता दिएको बताइएको छ ।