जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार ०९:०३

गाउँमै पुग्यो आयुर्वेद सेवा : दोरम्बा शैलुङमा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय नागरिक लाभान्वित


रामेछाप, चैत २२ । दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दोरम्बा शैलुङ गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई घरआँगनमै उपचार सेवा पुगेपछि स्थानीयवासी लाभान्वित भएका छन्।

शनिबार सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका विभिन्न वडाका २ सय जनाले स्वास्थ्य सेवा लिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो।

उहाँले शिविरमा वितरण गरिएका औषधि वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न औषधि कम्पनीहरूले उपलब्ध गराएको बताउनुभयो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अझै चुनौतीपूर्ण रहेको अवस्थामा यस्ता शिविरले नागरिकलाई राहत पुगेको उहाँको भनाइ छ।

चिकित्सालयकी डाक्टर सविता भण्डारीका अनुसार शिविरमा विशेषगरी हाडजोर्नी दुख्ने, पुरानो खोकी, छाला सम्बन्धी समस्या, शरीर पोल्ने तथा झमझमाउने, युरिक एसिड, पायल्स, टाउको दुख्ने, नाक टालिने तथा महिलासम्बन्धी विभिन्न स्वास्थ्य समस्याका बिरामी उपचारका लागि आएका थिए।

उहाँले ग्रामीण भेगमा दीर्घकालीन रोगका बिरामीहरू नियमित उपचार सेवाबाट वञ्चित हुने गरेको उल्लेख गर्दै शिविरमार्फत त्यस्ता बिरामीलाई प्रारम्भिक उपचार र आवश्यक सल्लाह प्रदान गरिएको बताउनुभयो।

चिकित्सालयले नागरिकलाई गाउँमै आयुर्वेदिक तथा वैकल्पिक स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित जिल्लाका विभिन्न स्थानीय तहमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ। यसका साथै नियमित रूपमा घरदैलो सेवा समेत सञ्चालन गरिँदै आएको छ, जसबाट वृद्धवृद्धा, अशक्त तथा दुर्गम बस्तीका नागरिकले प्रत्यक्ष लाभ लिइरहेका छन्।

स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने सरकारी प्रयासअन्तर्गत सञ्चालन गरिएका यस्ता कार्यक्रमले नागरिकको स्वास्थ्यप्रति जनचेतना बढाउनुका साथै उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।