जनता टाइम्स

२४ चैत्र २०८२, मंगलवार ०७:१४

सिन्धुलीकाे फिक्कलमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा, स्वास्थ्य मन्त्री थापाद्वारा उद्घाटन 


 काठमाडौं, चैत २४ । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल आधारभूत अस्पताल सञ्चालनमा आएको छ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पतालको उद्घाटन गर्नुभएको हो ।

अस्पतालको उद्घाटन गर्दै मन्त्री थापाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु राज्यको दायित्व मात्र नभई नागरिकको आधारभूत आवश्यकता भएको बताउनुभयो । गाउँका नागरिकले सामान्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवा केवल पहुँचको विषय मात्र नभई गुणस्तरीय र भरपर्दो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवा केवल पहुँचको विषय मात्र होइन, यो गुणस्तरीय र भरपर्दो हुनुपर्छ ।’

भौतिक पूर्वाधारले मात्रै स्वास्थ्य सेवा पूर्ण नहुने उल्लेख गर्दै मन्त्री थापाले भवनसँगै दक्ष जनशक्ति, आधुनिक प्रविधि र आवश्यक उपकरणहरूको समुचित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । बदलिँदो समयको मागअनुसार सशक्त, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा निर्माणमा वाग्मती प्रदेश सरकार दृढ रहेको उहाँको भनाइ थियो । ‘भौतिक पूर्वाधारसँगै दक्ष जनशक्ति, प्रविधि र उपकरणको समुचित व्यवस्थापन बिना स्वास्थ्य सेवा पूर्ण नहुने हुँदा स्थानीय तहसँग हातेमालो गर्दै बदलिँदो समयको मागअनुसार सशक्त, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा निर्माणमा वाग्मती प्रदेश सरकार दृढ रहेको छ,’ उहाँले भन्नुभयो ।

१५ शय्याको अस्पताल सञ्चालनमा आएसँगै फिक्कल गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दाले अब गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने भएका छन् ।

यसैबीच मन्त्री थापाले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाद्वारा सञ्चालित गोलन्जोर आधारभूत अस्पतालको स्थलगत निरीक्षण पनि गर्नुभएको छ । सो क्रममा आयोजित अन्तरक्रियामा अस्पतालको भौतिक पूर्वाधार, सेवा प्रवाह र जनशक्तिको अवस्थाबारे छलफल भएको थियो ।

स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच भएको अन्तरक्रियाबाट सेवा सुधार, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण सुझावहरू प्राप्त भएको मन्त्री थापाले बताउनुभयो ।

गोलन्जोर गाउँपालिकाको स्वास्थ्य सेवाप्रति देखिएको प्रतिबद्धता र निरन्तर अनुगमनले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा सकारात्मक सन्देश दिएको उहाँको धारणा छ ।